एमाले सचिव रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी

प्रकाशित मिति:

काठमाडौं, वैशाख – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूलाई जिल्ला अदालत काठमाडौंले धमाधम पक्राउ पुर्जी जारी गर्न थालेको छ।यसक्रममा पूर्वमन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसरले आज बुधबार जिल्ला अदालत काठमाडौंबाट रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो। स्रोतका अनुसार सन्दीपले एक करोडको चेक लिएको पाइएको छ। उनीहरू भने फरार भइसकेको जनाइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे काठमाडौं प्रहरी परिसरमा पुगेका छन्। उनीमाथि शरणार्थी भनेर अमेरिका पठाएर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ। पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए ।भुटानी शरणार्थीका नाममा नक्कली व्यक्तिलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि बहालवाला सचिव पाण्डेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो। प्रहरीले पक्राउका लागि अनुमति पाएलगत्तै पाण्डे आफै प्रहरी परिसर पुगेका हुन्।प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईलाई पक्राउ गरेको थियो।

तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप राईमाथि छ। राईका छोरा निरजविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। निरज फरार छन्।उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ चैत १२ गते नै पक्राउ परेका थिए।नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै रकम असुल्नेमा बादल र रायमाझीका व्यक्तिहरुको संलग्नता रहेको विषयमा प्रतिनिधिसभा बैठकमै कुरा उठेको थियो।