“बिधुवाको कथा ” -दिपिका रेग्मी

प्रकाशित मिति:

दिपिका रेग्मी –  म एक सरस्वती हुँ , सेतो कपडामा आफ्नो अस्तित्व देख्छु ।संसार रंगिन छ तर मेरो लागी रङ्हिन छ। जहाँ सप्तरङ्गी फुलपनि मलाई एक उराठ लाग्दो सेतो गुलाफ लाग्छ।सबै जोडीहरु देख्दा मलाई एकादेशको कथा जस्तो लाग्छ , जो मेरोलागि बनेको थियो उ एक डरलाग्दो सपना जसरी यो धर्तीबाट बिदा भयो ।सानासाना बतिला नानीहरु तिजमा व्रत बसे जस्तै म पनि व्रत बसेकी थिए , प्रभु मेरो श्रद्धामा कमि भयो वा हजुरले प्राथना सुन्नुभएन ? उहाँको उमेर यति छाेटाे किन बनाइदिनु भयो ?

संसार सारथीसँग रमाइलोसँग बित्दो रहेछ तर अन्जानलाई साथी बनाएको दिन मेरा लागि कालो दिन बन्न पुग्यो ।एक चिम्टी सिन्दुर, राता चुरा , रातो सारी मेरा लागि रहेनन् , सबै राता चिज सेता चिजमा परिवर्तन भए तर दुख पर्दा आएको रगत रातो नै रहयो । जसरी मेरो आश मर्यो , म त्यसैगरी मर्न सकिन बच्चालाई हजुरसँगै मेरो कमि थप्न चाहिन ।म नै आमा भए म नै बाबा भए , मातृत्व त बहन गरे तर पिताको स्पर्शको उसले कमि महसुस गर्यो ।कठै !! म बिधवा ग्रहण लागेको छ जिवनमा र त्यसैमाथी लागेको छ समाजको कथित कानुन , जहाँ म चार कोठामै गुम्सिएर यादसँग बाच्नु पर्ने हुन्छ ।काला दिन, राता आँशु र सेता पहिरनका साथ कुश चुटालेर दिएकी छोरी पो परे न त्यो घरमा हक छ न दाजुभाईको मनमा  ठाँउ छ त केबल समाजको घृणित अँाखामा र समाजले तोकिदिएको घेरामा ।

म एक बोक्सी हो रे! , कुसाहित पार्ने पात्र हो रे !मेरो ग्रहको दोषको कारण श्रीमान् गुमाउनु पर्यो रे! ए समाजका मै हो भन्ने धर्मका चम्चाहरु एक सोह्र श्रृङ्गारमा सजिएको कुन नारीलाई उसको श्रीमान् का साथै उसका जिन्दगीका हरेक राता रङ्ग खोसिदिए उ खुशी हुन्छे? म थाके आफैसँगको लडाइँसँग,समाजका हरेक छड्के प्रश्नसँग , मलाई म भएर बाच्न दिने समाज कहाँ होला? जहाँ मलाई मानवको दर्जा मिल्छ ।
प्रभु अर्को जुनिमा उहाँको आयु अलिक लामो बनाईदिनु है ,देखेका सपना पूरा गर्नु छ , छोरालाई बाबाको स्पर्श चिनाउनु छ नागरिकतामा बुबाको नाम थप्नु छ ।।।