भुटानी शरणार्थी भन्छन्- नक्कलीका कारण हामी मर्कामा पर्‍यौं

प्रकाशित मिति:

काठमाडौं, जेठ – वास्तविक भुटानी शरणार्थीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण आफूहरु मर्कामा परेको भन्दै गुनासो गरेका छन्। नेपालमा रहेका साढे ६ हजार भुटानी शरणार्थीको प्रतिनिधित्व गर्ने समितिले सोमबार एक विज्ञप्ति जारी गरेर त्यस्तो गुनासो गरेका हुन्।भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राईद्वारा जारी विज्ञप्तिमा शरणार्थी परिचयपत्र ८ महिनादेखि नवीकरण नहुँदा आफूहरुको परिचयविहीन बन्नुपरेको उल्लेख छ। उनले अविलम्ब परिचयपत्र वितरण गर्न माग पनि गरेका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र, निष्पक्ष छानबिन आयोग गठन गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा अध्यक्ष राईले जोड दिएका छन्। नवीकरणमा ढिलासुस्ती गरेर गैरभुटानीलाई भुटानी शरणार्थी बनाउने हो कि भन्ने आशंकासमेत पैदा भएको विज्ञप्तिमा भनिएको छ।

भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष राईले स्वदेश फिर्ती र परिवार मिलनको प्रतीक्षामा रहेका ६ हजार ५०० र पञ्जीकृत हुन बाँकी भुटानीको हितलाई ध्यानमा राख्न र समस्याको दीर्घकालीन समाधानका लागि सरोकारवालाबीच वार्ताका लागि पहल गरिदिनसमेत सरकारसँग माग गरेका छन्।नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, संविधानसभाका सदस्य आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत एक दर्जन व्यक्ति पक्राउ परेका छन्।