काठमाडौं, जेठ – काठमाडौं महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ।महानगर प्रमुख बालेन शाहले महानगरअन्तर्गत सञ्चालित विद्यालयले जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही गर्ने बताएका छन्।महानगरले मंगलबार सूचना प्रकाशित गरी छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो। साथै छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति एवं स्वीकृति समेत रद्द गर्ने चेतावनी महानगरले दिएको छ।
‘काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयले जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गर्नुपर्ने छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ ।महानगरले छावृत्ति उपलब्ध गराएको विवरण पेस नगरेमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी समेत दिएको छ। महानगरले छात्रवृत्ति उपलब्ध नगराउने ३४२ विद्यालयको सूची समेत प्रकाशित गरेको छ।












