१२ पुस, काठमाडौं । कांग्रेस कार्यकर्ताहरुले गुटका कारण पार्टी ध्वस्त भएकोमा चिन्ता व्यक्त गरिरहँदा युवा नेता गगन थापाले भने गुटको पक्षमा खुलेरै बोलेका छन् । थापाले पार्टीमा गुट आवश्यक रहेको बताएका छन् । राजधानीमा बिहीबार कृष्णप्रसाद सिटौला नेतृत्वको उनको गुटले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले गुट नभएको पार्टी जीवन्त बन्न नसक्ने बताएका हुन् । कांग्रेसमा गुटउपगुट मौलाएको छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता थापाले भने, ‘द्वन्द्व र गुट नभएको पार्टी जीवन्त रहन सक्दैन तर यसलाई नेतृत्वले व्यवस्थापन गर्नु आवश्यक छ ।’ उनले धर्मका सम्बन्धमा संविधानमा भएको व्यवस्था नै पार्टी धारणा भएको बताए । सनातनदेखि चलिआएको धर्मको संरक्षण गर्नुपर्ने र धर्म परिवर्तन गराउने विषय गलत भएको उनको भनाई छ ।
गुट नभएको पार्टी जीवन्त कार्यक्रममा युवानेता गगन थापाले कांग्रेसको विधान अग्रगामी बनेको बताउँदै विधान तहः पार्टीका संरचना बनाउन र सङ्गठन सुदृढीकरणका लागि समयमै निर्धारित पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । कांग्रेसले आफ्नो राजनीतिक प्रस्तावमा संविधानका मूलभूत व्यवस्थालाई स्वामित्व लिई उल्लेख गरेको बताउँदै उनले संविधानको सार्थक कार्यान्वयन गर्न पनि कांग्रेसले नेतृत्व लिने स्पष्ट पारे ।












