काठमाडौं- माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन उपचार पश्चात चीन बाट फर्किएका छन्। पुन छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत शुक्रबार नेपाल आएका हुन्।पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी हुन्।पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए।
लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुनको स्वास्थ्य अवस्था निकै जटिल बनेपछि गत १ फागुनमा चीन लगिएको थियो। उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।यसअघि पुनको थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएको थियो । तर, थाइल्यान्डको उपचार विधिले काम नगरेसँगै स्वास्थ्य अवस्था नाजुक भएपछि ०७८ मंसिरमा पुनलाई बैंककबाट एयर एम्बुलेन्समार्फत सिधै चीनको सेनजेन लगिएको थियो। बिलरुबिन नियन्त्रित अवस्थामा रहेपछि स्वदेश फर्किएका पुनको स्वास्थ्य गत ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको धपेडीका कारण पुनः बिग्रिएको थियो । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुन अस्वस्थताका कारण चुनावी गतिविधिमा समेत संलग्न हुन सकेका थिएनन् ।












