काठमाडौं, असार – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन्। दाहाल मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि शनिबार सिन्धुपाल्चोकको हेलम्बु–१ स्थितअम्बाथान पुगेका थिए।अवलोकनका क्रममा उनले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्।
याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।प्रधानमन्त्री दाहालले मेलम्चीमा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताए। उनले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको बताए। मलेम्ची खानेपानी आयोजना सम्पन्न भयो भनेर विकास समिति खारेज गरिएको र त्यसका कारण आयोजनालाई व्यवस्थापन गर्न समस्या भएकातर्फ ध्यानाकर्षण भएको उल्लेख गरे।
सो क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका थिए। २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो। बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनःसञ्चालन गरिएको थियो।प्रधानमन्त्री दाहाल मेलम्ची जाने भएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, वागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायत त्यहाँ पुगेका थिए।












