चापाकोटमा कृषि संकलन केन्द्र निर्माण

प्रकाशित मिति:

स्याङ्जाको चापाकोट नगरपालिकामा कृषि संकलन केन्द्रको भवन निर्माण भए संगै तरकारी तथा फलफुल संकलनले स्थानीय खुशी भएका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई स्याङ्जाको १३ लाख सहयोग चापाकोट वडा नं ८ घर्ती बगैँचामा संकलन केन्द्र बनेको हो ।पछिल्लो समय चापाकोट नगरपालिकाले नगर सहित जिल्लाको दक्षिणी भेग कालीगण्डकी नदी समथर भागमा आँप र लिची उत्पादनलाई जोड दिदै आएको छ । फलफुल तथा तरकारीको संभावना भएको यस भेगमा किसानको उत्पादनलाई सामुहिक संकलन र बजारीकरणको लागि संकलन केन्द्र निर्माण गरिएको आँपर लिची जोन कार्यक्रमका अध्यक्ष विश्वास पुरीले बताउनुभयो । दिगो र आगामी बर्षका लागि मध्यनजर गर्दै बनाइएको केन्द्रमा शौचालयसहितको भवन निर्माण गरिएको हो ।

चापाकोट नगरपालिकामा आँप र लिचीको विरुवा लगाउने किसानहरुको संख्या बढ्दो क्रममा रहेकोले कृषि उपज संकलन गर्ने उद्देश्यले भवन निर्माण गरिएको अध्यक्ष पुरीले जानकारी दिनुभयो ।किसानहरुलाई आँप र लिचीमा आत्मनिर्भर बनाई निर्यात गर्ने उद्देश्यका साथ यसै आर्थिक वर्ष मात्रै चापाकोटमा आम्रपाली जातको १० हजार आँप र सिडलेस जातको ६ हजार लिचीको विरुवा वितरण गरिएको छ । माग अनुसार थप बिरुवा वितरण गर्ने तयारीमा पालिका छ ।चापाकोट नगरपालिकामा मात्रै एक सयभन्दा बढी आँप र लिचीको विरुवा लगाउने किसानहरुका संख्या २ दर्जन बढी छ । दीर्घकालीन उद्देश्य लिएर निर्माण गरिएको कृषि भवनको नजिकै रहेको खाली ठाउँमा पार्क निर्माण कार्य अगाडि बढाइएको चापाकोट नगरपालिका ८ का वडा अध्यक्ष टोपलाल न्यौपाने ९राजु० ले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाईले चापाकोट नगरपालिका र गल्याङ नगरपालिका १, २, ३, ९ र ११ वडामा गतवर्षबाट आँप र लिची जोन कार्यक्रम अगाडि बढाएको छ । किसान व्यवसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।व्यवसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन चापाकोट नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन एकाई, स्याङ्जाको लागत सहभागितामा नगरभित्रका किसानहरुलाई गतवर्ष पचास प्रतिशत अनुदानमा आँप र लिचीको विरुवा वितरण गरेकोमा यसबर्ष निःशुल्क वितरण गरेको हो।