पश्चिम नवलपरासीमा आँखा पाक्ने रोगको समस्य बढ्यो

प्रकाशित मिति:
प्रकाश न्यौपाने
साउन १८ गते
नवलपरासी । पश्चिम नवलपरासीका सातै वटा पालिकाहरुमा आँखा पाक्ने भाइरल रोगको समस्या बढेको छ । जिल्लाको प्रतापपुर गाउपालिका,  बर्दघाट नगरपालिक,  रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सुनवल नगरपालिका, सरावल गाउपालिका र सुस्ता गाउपालिकामा आँखामा संक्रमण भएका बिरामी बढेका छन् ।
जिल्लामा सदरमुकाम परासीमा रहेको विनोद निता कण्डेल आँखा अस्पतालमा दैनिक १ सयभन्दा बढी आँखा पाक्ने भाइरल रोगको समस्या लिएर उपचारका लागि आउने गरेको अस्पतालका व्यवस्थापक तुलसीप्रसाद पराजुलीले बताउनु भयो । ‘हामीकहाँ उपचारका लागि करिब ३ सय जना भन्दा बढी बिरामीहरु दैनिकी रुपमा आउने गर्नु भएको छ ।” उहाका अनुसार – ‘उपचारका लागि आउनेमध्ये ५० प्रतिशतभन्दा बढी बिरामी आँखा पाक्ने भाइरल समस्या लिएर  आउनु भएको छ ।”
भाइरसको संक्रमणबाट हुने यो रोगले मानिसलाई एक हप्तादेखि १५ दिनसम्म दुःख दिने गर्दछ । समस्या देखिएलगत्तै उपचारका लागि अस्पताल जान, चस्माको प्रयोग गर्न र आँखा राम्ररी सफा गर्न चिकित्सकले सुझाव दिएका छन् ।
जिल्लाका अन्य स्थानीय तहले पनि औषधिको अभाव हुन नदिन तत्काल औषधि खरिद गर्ने निर्णय गरेका छन् । रामग्राम नगरपालिकाले यसको उपचारका लागि आवश्यक औषधि वडा स्वास्थ्य चौकीबाट नै निःशुल्क प्रदान गर्ने र थप जटिलता भएमा नेत्ररोग विशेषज्ञलाई देखाउन प्रचारप्रसार तथा पूर्वतयारीको काम गरिएको नगर प्रमुख धनपति यादवले बताउनु भयो  ।
प्रतापपुर गाउपालिकाले पनि सुचना नै निकाले आम जनतालाई सुसूचित गरिएको गाउपालिका प्रमुख उमेश चन्द्र यादवले बताउनुभयो । उहाँ भन्नुहुन्छ -” पछिल्लो समय आँखा पाक्ने भाइरल बिरामी बढेको पाएका छौ । त्यसैले पालिकाले सुचना नै निकालेर सबैलाई सुसूचित गराएका छौ ।”