एभरेष्टमा डिजिटल मार्केटिङ सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल, ८ भदौ । बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट माध्यमिक विद्यालयमा डिजिटल मार्केटिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थापन सङ्कायअन्तर्गत कम्प्युटर विषयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रछात्रालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब एक सयबढी छात्रछात्राको सहभागिता रहेको थियो । विद्यालयका उप प्राचार्य उमेश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रमुख प्रशिक्षक हव आइटी बुटवलका डिजिटल मार्केटिङ निर्देशक हरि बन्जाडे, विद्यालयका कम्प्युटर शिक्षक राजिव बेलबासेले गर्नुभएको थियो ।

आधुनिक प्रविधिको विकाससँगै बढ्दै गएको डिजिटल मार्केटिङका बारेमा विद्यार्थीलाई विस्तृत जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रशिक्षक बन्जाडेले डिजिटल मार्केटिङ पद्वतिका विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो । सोही अवसरमा बोल्दै प्राचार्य कृष्ण न्यौपानेले आफूले सिकेको नवीनतम प्रविधिलाई व्यवहारमा उपयोग गर्ने र अरुलाई पनि उक्त ज्ञान बाँड्ने गरेमा मात्र सिकाइ उपलब्धिमूलक रहने बताउनुभयो । कार्यक्रममा सह प्राचार्यद्वय भिमसेन गौतम र उमेश रेग्मीले यस्ता कार्यक्रमले विद्यार्थीमा नवीन प्रविधिको ज्ञान अभिवृद्वि हुने हुँदा आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमले निरन्तरता पाउने जानकारी दिनुभएको थियो ।