बौद्ध विश्वविद्यालयका उपकुलपतिलाई स्वागत- अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउने प्रतिवद्धता

प्रकाशित मिति:

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यलाई स्वागत गरिएको छ । लुम्बिनीस्थित विश्वविद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच उपकुलपति बज्राचार्यले पदभार ग्रहण गरेका हुन् ।झण्डै ६ महिनादेखि रिक्त उपकुलपति पदमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले भदौं १३ गते बज्राचार्यलाई नियुक्त गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै उपकुलपति बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाईमा पु¥याउने योजनामा आफूले काम गर्ने बताए । ‘मैले धेरै प्रतिवद्धता गर्दिन, काम गरेर देखाउनुपर्ने चुनौति छ, उनले भने,–‘विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने र बोर्ड अफ ट्रष्टी बनाउने काम मेरो योजनामा छन ।’
विश्वविद्यालयको नेतृत्व सुम्पिएकोमा उनले प्रधानमन्त्रीलाई धन्यवाद समेत दिए । बौद्ध विश्वविद्यालयको विकासका लागि आफूले विगतदेखि नै सहयोग गर्दै आएको भन्दै उनले अहिले नेतृत्व प्राप्त भएकाले काम गर्ने देखाउने चुनौति र अवसर दुबै रहेको बताए ।

कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले अन्तर्राष्ट्रिय विश्वविद्यालयको ‘¥याङकिङ’मा पु¥याउनका लागि सबै एक भएर काम गर्नुपर्ने बताए । ‘७०को दशकमा विश्वविद्यालयका भौतिक संरचनाहरु निर्माणको काम सकिएको छ, अव ८० को दशकलाई प्राज्ञिक दशकका रुपमा मनाउने निर्णय बमोजिम काम गर्नुपर्नेछ, उनले भने ।विश्वविद्यालयलाई उचाईमा पु¥याउनका लागि रथ चारै पाङ्ग्रा एकनासले हिडेजसरी अघि बढ्नुपर्ने उनले बताए । ‘रथको अघिल्लो पाङ्ग्रा पन्चर भयो भने पछाडिबाट धकेल्दैमा रथ हिड्न सक्दैन, उनले भने,–‘विश्वविद्यालयमा पनि नेतृत्वसंगै अरु पनि एकनासले हिड्नुपर्छ ।’ विद्यार्थी संख्या घटिरहेकाले विश्वविद्यालयका लागि चुनौति थपिएको उनले बताए ।कार्यक्रममा बोल्दै बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यले विश्वविद्यालयमा लामो समय पदाधिकारी पद रिक्त हुन नहुने बताए ।

अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा गितु गिरीले अनुसन्धान सम्बन्धी कार्यलाई जोड दिएर विश्वविद्यालयको प्राज्ञिक विकासको कार्य गर्नुपर्ने बताए ।कार्यक्रममा विश्वविद्यालयका बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्य, सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुं, लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु निग्रोध, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, आर्काेलोजी विभागका प्रमुख बसन्त विडारी, सिटी क्याम्पसका निमित्त क्याम्पस प्रमुख मोहनलाल भण्डारी, प्राध्यापक संघका अध्यक्ष गुणाखर गैरे, प्रशासन शाखा प्रमुख चुरामणि पोखरेल लगायतले बोल्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम शैक्षिक प्रशासन शाखाका प्रमुख गजेन्द्र गुप्ताको सञ्चालनमा भएको थियो ।