युवा पुस्ताको सहभागीता नै मेरो मूख्य एजेन्डा : रबिन अधिकारी

प्रकाशित मिति:

लिस्बन, २१ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा संयोजकमा युरोपेली मुलुक पोर्चुगलबाट रबिन अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

गैर आवासीय नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष समेत रहेका अधिकारीले आगामी (२०२३–०२५) कार्यकालका लागि युवा संयोजकमा उम्मेदवारी दिने भएका हुन् । यही अक्टोबर १७ मा काठमाण्डौंमा हुने ११ औं महाधिवेशनमा ‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत् सहभागिता’ भन्ने मुल नाराका साथ अधिकारीले युवा संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा संगै अधिकारीले आफूले गर्ने काम र योजना सहित सात बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।

संघमा युवा र नयाँ पुस्ताको व्यापक सहभागिता बढाउने बिशेष योजना र कार्यक्रमका साथ युवा संयोजकमा उम्मेदवारी दिने तयारी गरेको अधिकारीले बताए । एनआरएनए पोर्चुगलकोे नेतृत्व गरेको अनुभवका साथै संघको बिभिन्न तह र तप्कामा रहेर काम गरेको अनुभवका आधारमा संघलाई थप गतिशील र सशक्त बनाउने सोंच र परिकल्पनाका आफू युवा संयोजक पदमा साझा उम्मेदवारका रुपमा प्रस्तुत भएको उनले बताए ।

‘धेरै राष्ट्रका एनआरएनए अभियन्ताहरुको साथ, सहयोग र समर्थन पाएकै कारण ठोस योजना र कार्यक्रमका साथ मैले युवा संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको हुँ – अधिकारीले भने ।’

संघका पूर्व आईसिसी सदस्य समेत रहेका अधिकारीे बिगत लामो समयदेखि एनआरएनए अभियानमा क्रियाशील रहंदै आएका छन् । संघको बिभिन्न तह र तप्कामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका अधिकारीले सांगठनिक नेतृत्वको अनुभव समेत बटुलीसकेका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेल्जियमको (२०११-०१३) कार्यसमिति सदस्यका रुपमा काम गरिसकेका उनी युवा माझ लोकप्रिय छन् ।

अध्ययनको सिलसिलामा सन् २००९ मा बेलायत आएका उनी बेल्जियम हुदै पछिल्लो समय पोर्चुगलमा रहेर संघ मार्फत् सामाजिक गतिविधीमा सकृय रहदै आएका छन् । सन् २०१३ देखि पोर्चुगल बस्दै आएका अधिकारी सफल र स्थापित नेपाली ब्यवसायीका रुपमा समेत परिचित छन् । अधिकारीले गैर आवासीय नेपाली संघ पोर्चुगलको नेतृत्व र हस्तान्तरण सफलतापूर्वक र जिम्मेवारपूर्ण ढंगले गर्न सफल भएको एनआरएन वृत्तमा चर्चा समेत छ ।

“म बिगत १४ बर्ष देखि एनआरएन अभियानमा निरन्तर क्रियाशील रहदै आएको छु । संघमा मेरो लामो अनुभव, क्रियाशीलता र योगदान छ ।, रोजागारीका लागि बिदेशिएका लाखौं युवाको पक्षमा काम गर्ने र संघमा युवा पुस्ताको सहभागीता बढाउने संकल्पका साथ म चुनावी मैदानमा होमिएको हो,– अधिकारीले भने ।”

विदेशमा रहेका नयां पुस्तालाई नेपाल र नेपालीपनसंग जोड्नका लागि नेपाली भाषा, कला, संस्कृतिको प्रवर्द्धन र जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने, बिश्वभर छरिएर रहेका युवाहरुलाई खेलकुदको माध्यमबाट जोड्दै उनीहरुलाई प्रोत्साहित गर्नका लागि एनआरएन युवा खेलकुद कोषको स्थापना गर्ने, आइसिसी र एनसिसीको बीचमा आवश्यक समन्वय गरी आपसी सहयोग अभिवृद्धि गर्ने, विभिन्न मुलुकमा समस्यामा परेका युवाहरुको समस्या समाधानका लागि आवश्यक पहल र प्रयन्त गर्ने लगायतका योजना तथा कार्यक्रमहरु अधिकारीले अगाडि सारेका छन् । साथै पोर्चुगलमा दूतावास स्थापनाका लागि एनआरएन पोर्चुगलको अध्यक्षको हैसियतले विभिन्न माध्यम र निकाय मार्फत् पहल र प्रयत्न गरेको स्मरण गर्दै उनलेे दूतावास स्थापनाका लागि थप पहल र प्रयत्न गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

बिश्वभर छरिएर रहेका युवाहरुसंग समन्वय र सहकार्य गरेर युवाहरूको आवाजलाई केन्द्र सम्म बुलन्द पार्ने उनले बताए ।
” मेरो उम्मेदवारी मूलतः संघमा थप योगदान गरौँ, मातृभूमिका लागि केही गरौँ र बिश्वभर छरिएर रहेका तमाम युवाहरुको आवाजलाई बुलन्द पारौं भन्ने हो, -उनलेे अगाडि थपे।” अधिकारीले युवा संयोजकका लागि आफू नै योग्य उम्मेदवार रहेको समेत बताएका छन् ।

“ म बिगत लामो समयदेखि प्रवासमा रहेर समाजिक गतिबिधीमा सकृय रहंदै आएको छु ।, ‘मेरो उम्मेदवारी ब्यक्तिगत लाभ र स्वार्थका लागि होईन, संघको हित र बिशुद्ध सेवाका लागि हो’,– अधिकारीले भने । ‘ संघलाई साझा संस्थाका रुपमा स्थापीत गर्ने योजनाका साथ मैले युवा संयोजकमा उम्मेदवारी दिन लागेको हुँ ।”

संघको बिभिन्न तह र तप्कामा रहेर लामो समयदेखि गरेको काम र योगदान नै आफ्नो जितको मूख्य आधार भएको उनको भनाई छ ।युवा संयोजकको उम्मेदवारका रूपमा प्रस्तुत भएका अधिकारीले आफूलाई मतदान गर्न बिश्वभरका प्रतिनिधिहरुलाई बिशेष आग्रह समेत गरेका छन् ।धादिङ बेसीशहरका अधिकारी गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व युवा संयोजक तथा अन्तराष्ट्रिय धादिङ समाजका सल्लाहकार समेत हुन् ।