शान्तिको फुटबलमा सिद्धार्थ र जनभावना विजयी

प्रकाशित मिति:

तिलोत्तमा, असोज २५ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा आज बिहिबारदेखि जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिता शुरु भएको छ । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आजको खेलमा सिद्धार्थ इङ्गलिस बोर्डिङ स्कुल र जनभावना मा.वि. विजयी भएका छन् ।
आजको पहिलो खेलमा सिद्धार्थले नविन औद्योगिक कद्धर बहादुर रीता माध्यमिक विद्यालयललाई पेनाल्टी सुट आउटमा हराउदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै दोस्रो खेलमा जनभावना मा.वि.ले जन ज्योती मा.वि.लाई पेनाल्टी सुट आउटमा हराउदै अघिल्लो चरणको यात्रा तय गरेको हो । दुवै खेलहरु निर्धारित समयमा गोल रहित बराबरीमा टुङ्गिएपछि पेनाल्टीमा धकलिएका थिए ।
आजको पहिलो खेलमा नविन औद्योगिकका केशव भण्डारी र दोस्रो खेलमा जन ज्योतीका सुदिप पाण्डे म्यान अफ द म्याच भएर पुरस्कृत भएका छन् ।
यसअघि क्लवका अध्यक्ष राजेन्द्र के.सी.को अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले खेलको माध्यमबाट विद्यालयका शिक्षक कर्मचारीबिचको आत्मीयता अभिबृद्धि हुने हुँदा यस प्रकारको खेल निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, कार्यपालिका सदस्य सुरेन्द्र श्री, विद्यालयका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुल प्रसाद लामिछाने लगायतले खेलाडीहरुलाई सफलताको शुभकामना दिनुभएको थियो ।
प्रतियोगिता अन्तरगत भोलीको खेलमा पर्ल सेकेन्डरी स्कुलले देवदह माध्यमिक विद्यालयको सामना गर्नेछ भने दोस्रो खेलमा शान्ति नमुनाको समुह सि र पशुपति मा.वि.को समुहबिच खेल हुने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।