पुष १५ , बुटवल । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले लोकतन्त्रलाई धज्जी उडाउने कार्य गरिरहेको बताएका छन् । प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा खाँणले वर्तमान सरकारको सशक्त प्रतिवाद गर्ने बताए । बाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त हत्या प्रकरण लगायतका विषय उठाएर चालु संसदमा सशक्तरुपमा आवाज उठाउने उनको भनाइ छ ।अहिलेको सरकार संसदीय शासन व्यवस्थाप्रति प्रतिबद्ध नरहेको आरोप लगाउँदै उनले भने, ‘अब प्रतिपक्ष यहाँ छ भनेर देखाउने बेला आएको छ ।’
प्रधानमन्त्री र मन्त्रीहरुका अभिव्यक्ति संविधानविपरित र गैरजिम्मेवार रहेको भन्दै खाँणले सरकारलाई सच्चिन सुझाव दिए । धेरै अवसर पाउँदा पनि सरकारले राम्रो काम गर्न नसकेको भन्दै उनले ओली-प्रचण्डको सरकार नाच्न नजान्ने र आँगनलाई दोष दिनेजस्तै रहेको टिप्पणी गरे । लोकतान्त्रिक पद्धती बन्दुक र बारुद पड्काएजस्तो नभएको भन्दै खाँणले दुई तिहाइ बहुमतको सरकारले लोकतन्त्र बिरोधी काम गरिरहेको आरोप लगाए । प्रदेश नम्बर ५ को स्थायी राजधानिको बिषयमा उनले, अहिलेको प्रदेश सरकार रहदासम्म नै घोषणा नहुने हो कि भन्ने डर भएको बताए । मुख्यमन्त्रि र सभामुख यहाको पक्षमा नबोल्ने कारणले राजधानीको टुङो लाग्न ढिलाई भएको बताए । उनले नेपाली कांग्रेसमा महासमिति बैठक अघिका आशंकाहरु किनारा लागेको र नेताहरुबीच सैद्धान्तिक र बैचारिक कुनै बिवाद नभएकाले अव गाउदेखि केन्द्रसम्म नै काग्रस शसक्त हुने बताए ।कार्यक्रम प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालको सभापतित्व र सचिव श्याम शंकर पाण्डेको संचालनमा सम्पन्न भएको हो ।












