साहित्यिक प्रतिभा निखार्न कविता लेखन प्रशिक्षण सम्पन्न

प्रकाशित मिति:

स्याङ्जा- भाषा, कला, संगीत तथा संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्य सहित गल्याङ प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित दुई दिने ‘कविता लेखन (शास्त्रीय छन्द, मुक्तलय, गजल र मुक्तक) प्रशिक्षण कार्यक्रम २०८३’ सम्पन्न भएको छ । स्याङ्जाको गल्याङ नगरपालिकाको व्यवस्थापकीय संयोजनमा सम्पन्न प्रशिक्षणमा शास्त्रीय छन्द, मुक्तलय, गजल तथा मुक्तक लेखनका विविध पक्षबारे सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ स्रष्टा कलानिधि दाहालले शास्त्रीय छन्द र मुक्तलय कविताको संरचना, लेखन प्रक्रिया तथा समकालीन अभ्यासबारे प्रशिक्षण दिनुभएको थियो । त्यस्तै ध्रुवप्रसाद शर्मा पङ्गेनीले शास्त्रीय छन्दका विविध आयाम तथा प्रयोगबारे सहजीकरण गर्नुभएको थियो भने युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरले गजल र मुक्तक लेखनका आधारभूत सिद्धान्त, संरचना र सिर्जनात्मक पक्षबारे प्रशिक्षण दिनुभएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरुप्रसाद भट्टराईले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन स्थानीय सरकारको साझा दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले साहित्यले समाजलाई सकारात्मक दिशा प्रदान गर्ने भएकाले यस्ता प्रशिक्षण कार्यक्रमले नयाँ स्रष्टा उत्पादन गर्न, सिर्जनशीलता विकास गर्न र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । गल्याङलाई साहित्य, कला र संस्कृतिको उर्वर भूमिका रूपमा स्थापित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका प्रसाद भट्टराईले साहित्य समाजको चेतना, सभ्यता र संस्कृतिको ऐना भएको बताउँदै स्रष्टाहरूको क्षमता अभिवृद्धि तथा सिर्जनशील वातावरण निर्माणका लागि प्रतिष्ठान निरन्तर सक्रिय रहने बताउनुभयो । उहाले स्थानीय प्रतिभाको खोज, प्रोत्साहन र सम्मान मार्फत गल्याङको साहित्यिक गतिविधिलाई थप गतिशील बनाउने लक्ष्य रहेको धारणा व्यक्त गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सहभागी स्रष्टा तथा साहित्यप्रेमीहरूले कविता लेखनका विभिन्न विधागत पक्षबारे ज्ञान हासिल गर्नुका साथै सिर्जनात्मक अभ्याससमेत गरेका थिए। समापन सत्रमा सहभागीहरूले आफूले तयार पारेका कविता, गजल तथा मुक्तक प्रस्तुत गरेका थिए ।समापन अवसरमा प्रशिक्षणमा योगदान पुर्‍याएको भन्दै प्रशिक्षकत्रय कलानिधि दाहाल, ध्रुवप्रसाद शर्मा पङ्गेनी र मिलन समीरलाई नगदसहित ‘गल्याङ प्रज्ञा सम्मान’ प्रदान गरिएको थियो । गल्याङ प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य जि.बी. रानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संयोजन तथा सञ्चालन प्रतिष्ठानका सचिव मिलन समीरले गर्नुभएको थिए । २०८१ सालमा स्थापना भएको गल्याङ प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।