शान्ति नमुनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

प्रकाशित मिति:

रुपन्देही,माघ २४ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो ।
प्रतियोगितामा रुपन्देहीमा रहेका विद्यालयहरुबाट एक जना छात्रा अनिवार्य रहने गरी तीन जना विद्यार्थीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा करीव ५० विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता यही माघ २८ गते आइतबार दुइ चरणमा हुनेछ । लिखित चरणबाट छनौट भएका ६ वटा विद्यालयका विद्यार्थीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.१२ हजार, द्वितीय हुनेलाई नगद रु. ९ हजार, तृतीय हुनेलाई नगद रु. ७ हजार र प्रोत्साहन स्थान प्राप्त गर्ने समूहलाई रु. ४ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मोहन पौडयालले बताउनुभयो ।
वार्षिकोत्सजको अवसरमा माघ २८ गते खाना महोत्सव, २९ गते रक्तदान र फागुन २ गते मूल समारोहको कार्यक्रम हुनेछ । सो अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, १२ कोठे भवनको समुद्घाटन, ३६ कोठे भवनको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।