शान्ति नमुनामा रक्तदान तथा पढाइ महोत्सव

प्रकाशित मिति:

 

तिलोत्तमा, माघ २९ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ ।
विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णुप्रसाद अर्यालले जानकारी दिनुभयो । युवा रेडक्रस सर्कल शान्ति नमुना माविको आयोजनामा भएको सो कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका सभापति तथा पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले रक्तदानले मानव जीवन बचाउने भन्दै विद्यार्थी जीवनबाटै मानवीय र सामाजिक काममा लाग्नु पर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयले विद्यार्थीहरुमा मानवीय भावनाको विकास गराउदै उनीहरुमा सदभावनाको विकास गराउन यस प्रकारका कार्यक्रम गरेको बताउनुभयो ।
यसैबीच, विद्यार्थीहरुको पढाईप्रति अभिरुचि जगाउने उद्धेश्यका साथ पढाई महोत्सव गरिएको छ । पढाइ महोत्सवमा कक्षा १, २ , ३ का विद्यार्थीहरु सहभागी भएर पढाइका विभिन्न क्रियाकलापमा सहभागी भएको कार्यक्रमका संयोजक बसन्ती भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी खेल सप्ताहमा सञ्चालित विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने तथा शैक्षिक रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा विद्यालयका सल्लाहकारहरु रोमणी प्रसाद पाठक, टेक बहादुर थापा, विद्यालय व्यवस्थापन समिति सदस्यहरु बुद्धि प्रसाद डुम्रे, चन्द्रकान्त खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष जमुना तिवारी, सदस्य सुनिता पाण्डे, सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेय लगायत सहभागी हुनुभएको थियो ।
वार्षिकोत्सवको मुल कार्यक्रम फागुन २ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति, पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, ‘नानी’ मुखपत्रको विमोचन, पत्रकार सम्मान, सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलले जानकारी दिनुभयो ।