कण्डमबारे जनचेतना फैलाउन बुटवलमा सांगीतिक कन्सर्ट

प्रकाशित मिति:

बुटवल,२९ माघ ।    एचआईभी एड्स र लागुपदार्थ प्रयोगविरुद्धको क्षेत्रमा काम गर्दै आएको संस्था आस्था समूह र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा कण्डमबारे जनचेतना फैलाउने उद्देश्यले अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा भोलि सांगीतिक कन्सर्ट हुने भएको छ ।

फेब्रुअरी १३ तारिख अर्थात मंगलबार दिउंसो बुटवलको ट्राफिकचोकमा निशुल्क हेर्न पाइने कन्सर्ट आयोजना गरिएको आस्था समूहका अध्यक्ष केशव पुनले जानकरी दिए ।

विशेषगरी युवा पुस्तालाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको पुनको भनाई छ ।

कन्सर्टमा चर्चित आधुनिक गायक कालिप्रसाद बास्कोटाको प्रस्तुति मुख्य आकर्षण रहने तथा कण्डमबाट बनेका पहिरनमा तेस्रोलिंगीहरुको फेशन परेड अर्को आकर्षण रहने अध्यक्ष पुनले बताए । बास्कोटाका रेशम फिलिलि,लाउंला पिरती,साली मन पर्‍यो,निर लगायत गीतहरु युवा पुस्तामाझ लोकप्रिय छन् ।

यस्तै कन्सर्टमा स्थानीय कलाकारहरुको रेडियो एक्टिभ ब्याण्डको लाइभ प्रस्तुति पनि रहने तथा कण्डमको जनचेतनामुलक स्टलहरु पनि रहने एएचएफ नेपालका कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिए । यस्तै निःशुल्क र गोप्य रुपमा एचआईभी परिक्षण तथा निःशुल्क कण्डम वितरण गरिने भट्टराईले बताए ।

संसारभरि यौन संक्रमण फैलिरहेको सन्दर्भमा आफु र आफ्नो यौन साथीलाई जोगाउनु अझ महत्वपुर्ण हुने भएकाले एएचएफले विश्वब्यापीरुपमा प्रणय दिवसको अवसर पारेर सन् २००९ देखि युवाहरुलाई लक्षित गरी बिबिध कार्यक्रम गरि कण्डम दिवस प्रत्येक बर्ष मनाउदै आएको ए।एच।एफ नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिव्यराज जोशीले बताए ।

विश्वमा प्रत्येक दिन १० लाख मानिसहरु यौन संक्रमणको शिकार हुने गरेको विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले देखाएको छ । कण्डमको प्रयोग नगर्दा मानिसहरु यौन संक्रमणको शिकार भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यौन संक्रमण र एचआईभी एड्स जस्ता रोगबाट बच्न कण्डमको अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । कण्डमको प्रयोगले गर्दा सन् १९९० देखि हासम्म एघार करोड सत्तरी लाख मानिसहरुमा नयाँ एचआईभी। संक्रमण हुनबाट जोगाएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको एड्स हेल्थ फाउण्डेसन नेपालका बजार व्यवस्थापक राधेश्याम श्रेष्ठले बताए ।

अन्तर्राष्ट्रिय कण्डम दिवस मनाउने र दिवसमा गरिने जनचेतनामूलक कार्यक्रमहरुले कण्डमको प्रयोगलाई व्यापक बनाउन सहयोग पुग्ने भएकाले बुटवलसहित देशका मुख्य शहरहरुमा युवा लक्षित कार्यक्रमहरु आयोजना गर्ने गरिएको श्रेष्ठले बताए ।

६५ प्रतिशत युवती र महिला तथा ८८ प्रतिशत युवा र पुरुषलाई कण्डमको प्रयोगले एचआईभी एड्स रोकथाम गर्छ भन्ने जानकारी भएको श्रेष्ठले बताए । तर १६ प्रतिशत युवती र महिला तथा २७ प्रतिशत युवा र पुरुषलाई मात्रै एचआईभी रोकथाम विधिबारे उचित ज्ञान भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । आस्था समूहले हरेक वर्ष कण्डम दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रमसहित सांगीतिक कन्सर्ट गर्दै आएको अध्यक्ष केशव पुनले बताए ।