पोर्चुगलमा अन्र्तराष्ट्रिय साहित्य सम्मेलन हुँदै

प्रकाशित मिति:

भरत प्रधान, लिस्बन, ८ फागुन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले बिश्व साहित्य सम्मेलन गर्ने भएको छ ।समाजले विश्व नारी दिवसको अवसर पारेर पोर्चुगलको राजधानी लिस्बनमा आगामी मार्च ८ देखि १० तारिख सम्म ८ औं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको हो । हरेक वर्ष विभिन्न देशमा सम्मेलन गर्दै आएको समाजले यसपटक युरोपेली मुलुक पोर्चुगलमा सम्मेलन गर्न लागेको समाजद्धारा लिस्बनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक, र साहित्यकर्मीहरुको भेला रहने सम्मेलनको ब्यापक तयारी भईरहेको अनेसास पोर्चुगलका महासचिव एन.बी. अन्जानले जानकारी दिनुभयो । सम्मेलनमा अनेसासका केन्द्रीय समिति, बोर्ड अफ ट्रष्टी, आजिवनसदस्य, साहित्यकार, भाषाबिद्, कलाकर्मी, संस्कृतिबिद लगायत गरि विश्वभरका ५० भन्दा बढी च्याप्टरबाट एक सय बढी साहित्यकर्मीहरुको सहभागिता रहने महासचिव अन्जानले बताउनुभयो ।

सम्मेलनमा नेपाली साहित्यमा महिला सहभागिता बारे छलफल, अनेसासका बारेमा छलफल, डायस्पोरा साहित्यबारे बिशेष छलफल र चर्चा गरिने उहाँले बताउनुभयो । तीन दिन सम्म चल्ने सम्मेलनमा सम्मान तथा नवरत्न पुरस्कार वितरण, पुस्तक लोकार्पण, बहुभाषिक साँस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्य गोष्ठीका साथै विभिन्न भाषा, कला, साहित्य र संस्कृति माथी कार्यपत्र प्रस्तुत र छलफल गरिने बताईएको छ ।

अन्जानका अनुसार सम्मेलनको पहिलो दिन विश्व नारी दिवस विशेष कार्यक्रम हुनेछ । भने दोस्रो दिन विशेष साहित्य सम्मेलन तथा बहुभाषिक काव्य गोष्ठी र तेस्रो दिन काव्यिक भ्रमणको कार्यक्रम तय गरिएको छ ।सो अवसरमा अनेसासका केन्द्रीय सदस्य एवं पत्रकार यादब देबकोटाले “नेपाली साहित्य र अबको चुनौति” बिषयमा नेपाली भाषा, साहित्य र संस्कृतिका बिज्ञ सँग बहस गर्ने कार्यक्रम समेत रहेको छ ।समाजले सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि विश्वभरका साहित्यकर्मीहरु, कवि, लेखक, पत्रकार तथा सम्पुर्ण संघसंस्थासँग सहयोगको अपिल समेत गरेको छ ।