साई ग्लोबल कपको उपाधि न्यु होराइजनलाई

प्रकाशित मिति:

प्रकाश न्यौपाने- भैरहवा, फागुन  । न्यु होराइजन ‘ए’ टिमले भैरहवामा सम्पन्न जिल्ला स्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’को उपाधि चुम्न सफल भएको छ । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनलमा न्यु होराइजन ‘ए’ले जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूललाई ४४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । योसँगै साई ग्लोबल कपमा होराइजन लगातार दोस्रोपटक च्याम्पियन हुन सफल भएको छ । जितसँगै होराइजनले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको जेसिसले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले निर्धारित खेलमा ७ विकेटको नोक्सानीमा १ सय २५ रनको बलियो योगफल बनायो । उसका लागि राहुल भण्डारीले अविजित ४५ रनको सर्वाधिक पारी खेले । यस्तै, विशाल भुसालले ४०, संगम पाण्डेयले १८ र अमर मिश्रले १२ रनको योगदान दिए । बलिङमा जेसिसका इकलाख अहम्मद र अरुण नाउले समान २–२ तथा शैलेन्द्र यादवले १ विकेट लिए ।जवाफी ब्याटिङ गरेको जेसिस १९ ओभर ४ बलमा अलआउट हुँदै ८१ रनमै समेटियो र फाइनल खेलमा उपाधि जित्नबाट चुक्यो । उसका लागि अस्मान थारुले १८, इकलाख अहम्मदले ११ र विन्दराम यादवले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम उपाधि नजिक पुगेर पनि चुक्यो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजन ‘ए’का निरज घिमिरेले ३, निराजन भट्टराई र अमर मिश्रले समान २–२ तथा निश्चल ज्ञवाली र कमरन खाँनले १–१ विकेट लिए । होराइजनका राहुल भण्डारी म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कुलका ड्रस सुनार म्यान अफ द सिरिज घोषित भए । उनले नगद ५ हजार रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाए । यस्तै, जेसिसका इकलाख अहम्मद बेष्ट बलर बने भने उपाधि विजेता टिम न्यु होराइजनका अमर मिश्र बेष्ट ब्याटर भए । उनीहरुले जनही २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा साई ग्लोबल अनुशासित टिम घोषित भयो ।रुपन्देही क्रिकेट संघको आयोजना तथा भैरहवामा रहेको साई ग्लोबल एकेडेमीको प्रमुख प्रायोजनमा सम्पन्न प्रतियोगितामा जिल्लाका २६ कलेजका टिमले सहभागिता जनाएका थिए । विजेता र उपविजेता टिमलाई सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, जिल्ला समन्वय समिति, रुपन्देहीका निवर्तमान प्रमुख एकराज विश्वकर्मा, नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा र संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, साई ग्लोबल कलेजका प्रबन्ध निर्देशक मोतिप्रसाद पौडेल, पंचकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुलगायतले पुरस्कार प्रदान गरे ।

थप समाचार