नेपालमै पहिलोपटक MRCP UK PACES परीक्षा सम्पन्न

प्रकाशित मिति:

नेपालमै पहिलो पटकMRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । परीक्षा फागुन २२, २३ र २४ गते तीन दिनसम्म चलेको थियो ।  Federation of the Royal College of Physicians, UK ले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिएको हो ।
परीक्षामा ४० जना परीक्षार्थीहरु सहभागी भएका थिए जसमा नेपाल, बंगलादेश, मलेसिया, भारत र टर्कीबाट चिकित्सकहरुको सहभागिता रहेको थियो । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १२ जना परीक्षकहरुको उपस्थिति रहेको थियो ।
Federation of the Royal Colleges of Physicians of the United Kingdom का प्रतिनिधिहरू डा. तन्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. फियोना क्लार्र्क, डा. सत्यन राजभण्डारी र डा. ग्राहम करी परीक्षा निरीक्षणका लागि आएका हुन् ।

युके पेसिस परीक्षामा डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विशेषज्ञतालाई थप निखार बनाई सीप परीक्षण गरिन्छ । यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्ने पेसेस परीक्षा नेपालका लागि प्रमुख निरीक्षक तथा नेपाल मेडिसिटी अस्पतालका सिनियर कन्सल्टेन्ट डा. नीरज जोशीले बताए । परीक्षामा पाँचवटा स्टेशनहरू राखिएका थिए जसको माध्यमबाट परिक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।

MRCP UK   चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ ।
यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।
यो परीक्षा हुनुभन्दा अगाडि Federation of the Royal College of Physicians, UK ले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षाको पूर्व अभ्यास पनि सञ्चालन गरिएको थियो । परीक्षकहरुलाई तालिम दिई परीक्षा सञ्चालन गर्न सक्ने बनाएपछि मात्र यो परीक्षा नेपालमा गरिएको हो । हाल धेरै चिकित्सकहरूले यो परीक्षा लिन रMRCP UK योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था थियो । नेपालमा यस परीक्षाको लागि केन्द्र खोलिँदा त्यस्ता सबै चिकित्सकहरूलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बनेको छ ।नेपाल मेडिसिटीमा MRCP PACES परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्क बिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरू खुल्नेछ । यसले लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ ।