हुलाकी सडक निर्माण अलपत्र हुँदा पालिकाले राजधानी केन्द्रित आन्दोलन गर्ने

प्रकाशित मिति:

प्रकाश न्यौपाने-माघ – नवलपरासी । पश्चिम नवलपरासीको नारायणचोकदेखि बेलाटारीसम्मको हुलाकी सडक निर्माण कार्य ठप्प छ । पटक–पटक स्थानीय र जनप्रतिनिधिले आन्दोलन गरे पनि ठेकेदार कम्पनीले काम नगरेको भन्दै प्रतापपुर गाउँपालिकाले फागुन १५ गतेभित्र काम सुरु नभए काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ ।सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी बज्रगुरु निर्माण कम्पनी काम नगरी ‘बज्र’ जस्तै निष्क्रिय बनेको स्थानीयको गुनासो छ । पालिका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा विभिन्न चरणमा दबाबमूलक कार्यक्रम भए पनि ठेकेदारले निरन्तर आँखामा छारो हाल्दै आएको स्थानीय बताउँछन ।

प्रतापपुर २ गोपिगन्जका अनिल चौधरी भन्नुहुन्छ, “हाम्रो पालिका अध्यक्षले पटक–पटक अनशन बस्नुभयो, गाउँपालिकाले चरणबद्ध दबावमूलक कार्यक्रमहरू गर्दै आयो , पालिका अध्यक्षज्यू काठमाडौँसम्म धाउनु भयो । तर अहिलेसम्म काम अघि बढ्न सकेन । स्थानीय बासी सहित समग्र प्रतापपुर गाउँपालिकाको टिमको अगुवाई गर्दै पालिका अध्यक्ष उमेशचन्द्र यादवले सडक निर्माण कार्य छिटो हुनुपर्ने भन्दै विभिन्न दबाबमूलक कार्यक्रम गर्नुभएको थियो।सडक निर्माण कार्य छिटो गराउन विभिन्न किसिमले दबाब दियौं तर विभिन्न समयमा आसवासन त पायौँ तर काम हुन सकेन। यादवले भन्नुभयो ।यो सङ्घीय सरकारको योजना हो । संघीय सरकारले काम सम्पन्न गर्न नसक्ने हो भने पालिकालाई जिम्मा दिन समेत यादवले आग्रह गर्नुभयो। प्रतापपुर गाउँपालिकाले यसको जिम्मेवारी पाएमा ३ देखि ४ महिनाभित्रमा सडक निर्माणको कार्य सम्पन्न गर्ने यादवको भनाईरहेको छ ।

पालिकाले चरणबद्ध कार्यक्रमहरू अघि बढाउँदा समेत काम अघि बढ्न सकेको छैन। सडकको अवस्था जस्ताको तस्तै स्थानीयले सडकको दुरावस्था भोगिरहेका छन्, भने सम्बन्धित निकाय मौन छ ।गत भदौ २८ गते, सडक निर्माणका लागि अध्यक्ष यादवसहित जनप्रतिनिधिहरू आमरण अनशनमा बसेका थिए। सो क्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा समेत आएर ऐक्यबद्धता जनाउनुभएको थियो ।थापाले मात्रै होइन विभिन्न समयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहितका मन्त्रीहरूले समेत यसमा ध्यानाकर्षण भएको बताउनुभएको थियो ।लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालको पहलमा निर्माण व्यवसायी र सरोकारवालाबीच सहमति भए पनि ठेकेदार कम्पनीले त्यसलाई कार्यान्वयन गरेको छैन। प्रतापपुर गाउँपालिकाले हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तु लाई पत्राचार गर्दै तत्काल काम सुरु गर्न आग्रह गरेको छ ।  स्थानीयले पटक–पटक दबाब दिए पनि हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण मर्कामा परिरहेका छन्। यदि समयमा काम सुरु नभए आन्दोलन चर्किने चेतावनी दिइएको छ। अब सरकार, ठेकेदार कम्पनी, र सरोकारवालाले कस्तो कदम चाल्छन् भन्ने प्रतीक्षामा छन्।