नवलपरासी। विपत व्यवस्थापनका लागि सम्पूर्ण सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको सरकारवालाहरूले जोड दिएका छन्। विपद् व्यवस्थापन सुदृढ गर्ने उद्देश्यसहित बर्दघाट नगरपालिकाको आयोजनामा जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिबीच अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताहरूले संघसंस्था र स्थानीय तहको समन्वयमा विपद व्यवस्थापन गर्न सकिनेमा जोड दिएका छन्।
जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवले सातवटै पालिकाले रणनीति बनाएर अन्तरपालिका समन्वयमार्फत असल अभ्यास आदानप्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउँदै, नगरले सञ्चालन गरेको एम्बुलेन्स सेवा छिमेकी जिल्लासम्म पुगेको उल्लेख गर्नुभयो।
पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज बस्यालले भौतिक संरचनाका कारण जोखिम बढेको भन्दै विपद्को समयमा आफू बाँच्ने र अरुलाई बचाउने क्षमताको विकास गर्नुपर्नेमा जोड दिनुभयो। बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले नगरपालिकाले विपद् कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको बताउँदै विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिनुभयो। नगरभित्र दमकल सञ्चालन, नगर प्रहरी परिचालन र स्थानीय समितिको नियमित बैठकको अभ्यास भइरहेको बताउनुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नं. २६ गण हेडक्वार्टर बेलासपुरका प्रहरी नायब उपरीक्षक बिष्णु अधिकारीले विपद्का प्रकार, त्यसका असर, क्षति न्यूनीकरणका उपाय र समन्वयात्मक प्रयासका विषयमा प्रकाश पार्नुभयो। विपद्को समयमा उत्पन्न हुने चुनौती र त्यसलाई व्यवस्थापन गर्नुपर्ने उपायबारे समेत उहाँले जानकारी दिनुभयो।











