स्याङ्जाको चापाकोट नगरपालिका “पूर्ण खोप पालिका” घोषित

प्रकाशित मिति:

गोपिकृष्ण रेग्मी- वैशाख २४- स्याङ्जा – चापाकोट नगरपालिका आज ‘पूर्ण खोप पालिका’ घोषणा गरिएको छ। जनस्वास्थ्य कार्यालय स्याङ्जा तथा चापाकोट नगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा नगर क्षेत्रभित्रका १५ महिनासम्मका ३१९ बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप प्राप्त गरेपछि उक्त घोषणा गरिएको हो। नगरपालिका वडा नं। १ देखि १० सम्मका बालबालिकाहरूको तथ्यांक संकलन, अभिभावकमाझ खोपको महत्वबारे सचेतना अभिवृद्धि, महिला स्वास्थ्य स्वयंसेविकाहरूको निरन्तर प्रयास र स्थानीय स्वास्थ्य संस्थाहरूको सक्रिय भूमिकाका कारण पूर्ण खोप सुनिश्चित भएको स्वास्थ्य शाखाले जनाएको छ।

पूर्ण खोप पालिका घोषणा कार्यक्रम नगर उप–प्रमुख इशा रानाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य शाखाका बिन्दु कोइरालाले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सुवास देवकोटाले गर्नुभएको थियो। घोषणा समारोहमा जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईं, चापाकोट नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत नेत्रप्रसाद घिमिरे, स्वास्थ्य शाखा प्रमुख नवराज पौडेल, महिला स्वास्थ्य स्वयंसेविकाहरू, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उप–प्रमुख रानाले भनिन्, “पूर्ण खोप पालिका घोषणा हाम्रो समर्पण, समुदायको सक्रियता र सहकार्यको प्रतिफल हो। आगामी दिनमा हामी स्वास्थ्य सेवाको गुणस्तरमा अझ सुधार ल्याउँदै लैजानेछौं।” स्वास्थ्य शाखा प्रमुख पौडेलले सम्पूर्ण वडामा शतप्रतिशत खोप सुनिश्चित गर्न सञ्चालन गरिएका योजना, सर्वेक्षण र पुनः अनुगमन प्रक्रियाबारे जानकारी दिनुभयो। कार्यक्रममा १० वटै वडाका वडा अध्यक्ष तथा स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र प्रदान गरिँदै सम्मान गरिएको थियो।