१३ मे २०२५, क्विन्स, न्युयोर्क। न्युयोर्कस्थित क्विन्सबोरो अदालतकी सम्माननीय जिल्ला न्यायाधीश मेलिन्दा काजले एशियन प्यासिफिक आईल्यान्डर हेरिटेज महिनाको अवसरमा आयोजित विशेष समारोहमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका व्यक्तित्वहरूलाई सम्मान गर्नुभयो। सोही अवसरमा, गिरीजाप्रसाद कोइराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई “प्रतिष्ठित सेवा पुरस्कार” (Distinguished Service Award) प्रदान गरियो। न्यायाधीश काजले कोभिड महामारीदेखि अहिलेसम्म फाउन्डेशनले पुर्याएको निःस्वार्थ सामाजिक सेवाको प्रशंसा गर्दै, न्युयोर्कका जनसमुदायले समेत संस्थाको योगदानको उच्च मूल्याङ्कन गरिरहेको उल्लेख गर्नुभयो।
उक्त पुरस्कार प्राप्त गर्नुभएका घिमीरे पहिलो नेपाली–अमेरिकी हुनुहुन्छ। समारोहमा न्युयोर्क राज्यका विधानसभा सदस्य माननीय स्टीफन रागाले पनि अध्यक्ष घिमीरेलाई सम्मानपत्र (Citation) प्रदान गर्नुभयो। कार्यक्रममा फाउन्डेशनका कोषाध्यक्ष रेखा श्रेष्ठ, सदस्यहरू सुर्य सिमंखडा, पासाङ गोपर्मा शेर्पा, समाजसेवीहरू उर्गेन शेर्पा, लाना तु, मिसेल बार्थ, अनवर मोहम्मद, माइल्स पार्कर, जिमी होंग, किट्टी लिईन, गीता अधिकारी, योगेन्द्र अधिकारी, दीपक रायमाझी, आंगेलु शेर्पा, सुकमान तामाङ, इन्द्र बुढा मगर, तथा विद्यार्थी स्वयंसेवकहरू देविका कार्की, पूर्णिमा मगर, अमिता श्रेष्ठ र ग्रिश रायमाझी लगायत शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अध्यक्ष घिमीरेले प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै, फाउन्डेशनले समाजसेवामा पुर्याउँदै आएको योगदानको उच्च मूल्याङ्कनले आफूलाई थप प्रेरित बनाएको बताउनुभयो। उहाँले स्वर्गीय गिरीजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको संस्थाले नेपालसहित विश्वका ३६ राष्ट्रमा सेवा दिइरहेको उल्लेख गर्दै, अमेरिकी न्यायिक निकायबाट प्राप्त सम्मानले संस्थाको भूमिकालाई थप सशक्त बनाएको धारणा व्यक्त गर्नुभयो।स्मरणीय छ, अमेरिकामा नेपाली समुदायका विभिन्न संस्थाहरूमध्ये जिपी कोइराला फाउन्डेशन न्यायिक निकायबाट औपचारिक सम्मान प्राप्त गर्ने पहिलो संस्था हो। सन् २०१९ मा स्थापना भएको यस फाउन्डेशनले हालसम्म सयौं सामाजिक कार्यहरू गर्दै आएको छ। आगामी दिनहरूमा समेत सहयोगी हातहरूसँग सहकार्य गर्दै सामाजिक सेवा तथा मानवीय उत्तरदायित्वमा थप सशक्त रूपमा लाग्ने फाउन्डेशनको प्रतिबद्धता रहेको छ।