गल्याङमा निःशुल्क छाती रोग सम्बन्धी एआई एक्स–रे शिविर सम्पन्न, ३३६ जनाले सेवा लिए
गल्याङ । गल्याङ नगरपालिकाको आयोजनामा गल्याङ नगरपालिका–३ बल्पुकस्थित नगर अस्पतालमा निःशुल्क छाती रोग सम्बन्धी एआई प्रविधियुक्त पोर्टेबल एक्स–रे (AI Portable X-Ray) शिविर सम्पन्न भएको छ। शिविरमा नगरप्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्य र नगरउपप्रमुख हेमा न्यौपाने, प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख, स्वास्थ्यकर्मी र विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा सेवा प्रदान गरिएको हो। एकैदिन सञ्चालन गरिएको उक्त शिविरमा ३३६ जनाले छातीको निःशुल्क एक्स–रे सेवा प्राप्त गरेका थिए। तीमध्ये १२ जनामा क्षयरोग (टिबी) पुष्टि भएको छ। गल्याङ नगरपालिकाले ती सेवाग्राहीहरूलाई आजदेखि नै निःशुल्क औषधि उपचार सुरु गराएको छ। साथै, टिबीको आशंका गरिएका थप २२ जनाको खकार संकलन गरी परीक्षणका लागि पठाइएको छ।
गल्याङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णुप्रसाद वोलिका अनुसार, नगरपालिकामा पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग गरी छाती रोग पहिचानको शिविर सञ्चालन गरिएको हो।यसअघि पनि गल्याङ नगरपालिकाले नगरवासीहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै घुम्ती स्वास्थ्य शिविर, नसर्ने रोग सम्बन्धी शिविर र आँखा जाँच शिविर जस्ता विभिन्न स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरिसकेको छ। नगर प्रमुख भट्टराईले शिविरमा प्राप्त सफलताले आगामी दिनहरूमा प्रविधिमैत्री र पहुँचयुक्त स्वास्थ्य सेवालाई अझ सशक्त बनाउन प्रेरणा दिएको बताउनुभयो।










