समर्पण बालगृहको प्रथम वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन

प्रकाशित मिति:

बुटवल १० मा अवस्थित समर्पण बालगृहको प्रथम वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य समाहरोहका विच सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले समाजमा अटिजमको समस्या तिब्र रुपमा फैलिएको बताउँदै लुम्बिनी प्रदेश सरकारले आगामी नीति कार्यक्रम तथा बजेटमा प्राथमकितासाथ यो समस्यालाई सम्बोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै समर्पण बालगृहले राज्यले गर्नुपर्ने काम गरेर उदाहणीय अभ्यास प्रस्तुत गरेको बताउनुभयो।

कार्यक्रममा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले अटिजम सम्बन्धि समस्यालाई कम गर्न सहकार्य र आवश्यक भूमिका खेल्न तयार रहेको उल्लेख गर्नुभयो ।बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको क्षेत्रमा उपमहानगरले आवश्यक लगानी गर्न तयार रहेको बताउँदै उहाले अभिभावकहरु पनि आफ्ना बालबालिकाहरुको बारेमा सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पीका डिष्ट्रीक गभर्नर बालाराम भट्टराई, , निवर्तमान डिष्टिक गभर्नर अर्जुनमान शैजु, पुर्व डिष्ट्रीक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरीटेन्डेन डा। इन्द्र ढकाल, नेपाल चिकित्सक संघ रुपन्देहीका अध्यक्ष डा। कृष्ण खरेल, प्रशिक्षक डा। योगेन्द्र गैरे, युसिएमएसका प्रिन्सिपल डा लक्ष्मी पाठक, अक्सफोर्ड माबिका प्राचार्य दिनेश भुसाल, समर्पण बालगृहका सल्लाहकार अनिल प्रसाद श्रेष्ठ, उपाध्यक्ष सरस्वती ढुङ्गानालगायतले प्रविधिको बढ्दो प्रयोग र अभिभावकहरुको बढ्दो व्यस्तता र फेरीँदो जीवनशैलीले बालबालिका अटिजमको समस्या बढ्दै गएको हुँदा सचेत हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । अभिभावकले बालबालिकाहरुका लागि प्रयाप्त समय खर्च गर्ने बानी बसाल्नुपर्ने बताउँदै उहाहरुले प्रविधिको सही प्रयोगमा जोड दिनुभयो । अटिजमको समस्यालाई कम गर्नका लागि राज्यका तीनै तहले प्रयाप्त लगानी र योजना निर्माणमा जोड दिनु पर्ने सुझाव दिनुभयो ।

समर्पण बालगृहले बालबालिकाका क्षेत्रमा गरेका गतिविधि बारे जानकारी गराउँदै संस्थाकी अध्यक्ष डा। शान्ता शर्माले अटिजमको समस्या सबै साझा समस्याका रुपमा लिनुपर्नेमा जोड दिनुभयो । ७ जना बालबालिकाबाट सुरु गरिएको समर्पण बाल गृहमा ५५ जना बढी बालबालिकाहरुलाई सेवा दिन सफल भएको बताउँदै उहाले हालको अवस्थामा २२ जना बालबालिकाले नियमित रुपमा अहिले शिक्षा लिइरहेको जानकारी दिनुभयो । बालगृहमा सञ्चालन गरिएको विशेष शिक्षा कार्यक्रम, थेरापी तथा परामर्शपछि बालबालिकाहरुलाई साधारण अवस्थामा फर्काउन समेत सघाउ पुगेको अनुभव शर्माले सुनाउनुभयो । बालगृहसँग विभिन्न विदेशी संस्थाहरुले समेत लगानी र सहकारणय गर्न तयार हुँदाहुँदै पनि आफ्नै भौतिक संरचना र पूर्वाधार नहुँदा समस्या भइरहेको उल्लेख गर्नुभयो। यसै संस्थाले विशेष शिक्षाका लागि ८५ लाख बढीको योजना बनाएर अन्तर्राष्ट्रिय संस्थासँग प्रस्तावना पेश गरेर स्वीकृत भएपनि केही प्राविधिक कारणले उक्त प्रक्रिया हाल रोकिएको बताउनुभयो । उक्त प्रस्तावना अनुसारको योजना कार्यान्वयन भएको अवस्थामा यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धी हुने बताउँदै उहाले लुम्बिनी प्रदेशमै नमूना काम गरेर देखाउने बिचार राखुभयो । बालगृहकी द्वितीय उपाध्यक्ष पुष्पा कंडेलको सञ्चालनमा भएको कार्यक्रममा प्राचार्य मञ्जु श्रेष्ठले स्वागत गर्दै संस्थाको आर्थिक तथा भौतिक अवस्था र गतिविधि बारे जानकारी गराउनु भएको थियो । सोहि कार्यक्रमको अवसर पारेर बालगृहमा कार्यरत शिक्षक, कर्मचारी तथा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।