
बर्दघाट नगरपालिकाको ‘नगर गान’ सार्वजनिक, औपचारिक कार्यक्रममा गाइने गाइने
प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेष्ठ १५ गते
नवलपरासी । बर्दघाट नगरपालिकाले आफ्नै पहिचान झल्किने गरी तयार पारेको ‘नगर गान’ सार्वजनिक गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर बिहीबार एक कार्यक्रमका बीच पत्रकार सम्मेलन गरी नगर गान सार्वजनिक गरिएको हो।
१ मिनेट १५ सेकेन्डको नगर गान अडियोसहित सार्वजनिक गरिएको हो । जसमा नगर क्षेत्रभित्रका महत्वपूर्ण धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको भावात्मक चित्रण गरिएको छ।
बर्दघाट नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा “नगर गान निर्माण गरिने” उल्लेख थियो। सोही अनुसार नगरपालिकाले बर्दघाट प्रज्ञा प्रतिष्ठानमार्फत नगर गान निर्माण गराएको हो।
नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार अब पालिकाभित्र आयोजना हुने सबै सार्वजनिक कार्यक्रममा राष्ट्रिय गानपछि नगर गान अनिवार्य रुपमा बजाइनेछ। “नगर गानले नगरको पहिचानलाई बलियो बनाउनेछ, यसको प्रयोगले प्रचारप्रसारमा सघाउने अपेक्षा गरिएको छ,” श्रेष्ठले बताउनु भयो ।
नगर प्रवक्ता सन्तबहादुर गाहाले नगर गानले नगरको सांस्कृतिक पहिचान झल्काउने उल्लेख गर्दै सरोकारवालाहरूलाई यसको प्रभावकारी प्रयोगमा जोड दिनु भयो ।
नगर गानमा डिल्ली नारायण पाण्डेको शब्द, नरहरी प्रेमीको संगीत रहेको छ। लोचन भट्टराई, आनन्द कार्की, नरहरि प्रेमी, जुनु रिजाल, अष्ट लामा, राजीव शाह, श्रद्धा दियाली, विमला परियार, अपेक्षा खनाल, अनिल खनाल, कुमार थापा, जमुना राना, अस्मि रिसाल, खेम बी.क., सुरज गुप्ता लगायतका गायनमा आवाज रहेको छ।
गानको निर्देशन बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीले गर्नु भएको हो । नगरको सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय सम्पदालाई गीतमार्फत प्रस्तुत गरिएको नगर गान बर्दघाटको छुट्टै सांस्कृतिक धरोहरको रुपमा स्थापित हुने अपेक्षा गरिएको छ।
