शान्ति नमुनामा उद्यमशिलता प्रस्तुतीकरण कार्यक्रम

प्रकाशित मिति:

तिलोत्तमा, जेठ १९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना मा.वि.मा सोमबार उद्यमशिलता चुनौती कार्यक्रम अन्तरगत योजना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । हेल्भेटास तथा इन्स्योर परियोजनाद्वारा सञ्चालित र तिलोत्तमा नगरपालिकाको समन्वयमा कार्यान्वयनमा रहेको कार्यक्रम अन्तरगत आजको अन्तिम चरणमा २३ समुहले प्रस्तुतीकरण राखेका थिए ।
जसमा उत्कृष्ट हुने ६ समूहले उद्यमशिता विकासका लागि जनही १० हजार पुरस्कार प्राप्त गरेका छन् । उनीहरुले सो रकम उद्यमशिलताको लागि लगानी गर्नेछन् । यसअघि विभिन्न चरणहरु पार गरी विद्यार्थीहरुले अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । कक्षा १० मा अध्ययनरत करीव ६ सय विद्याथीहरुलाई विभिन्न चरणका कार्यक्रममा सहभागी बनाएर उद्यमशिलताको बारेमा जानकारी गराइएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, वडा नं ५ का अध्यक्ष रमेश डुम्रे, कार्यपालिका सदस्य रबि सेन्चुरी, वृत्ति मार्गनिर्देशन कार्यक्रमका प्राविधिक अधिकृत दिलिप बोहोरा लगायतले बोल्दै विद्यार्थीमा उद्यमशिलताको विकास गर्न र उनीहरुलाई भविष्यमा सफल उद्यमी बन्न कार्यक्रम निकै महत्वपूर्ण र प्रभावकारी रहेको बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको स्वागत तथा वृत्ति मार्ग निर्देशन शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको प्रतियोगितामा कार्यक्रम संयोजक रजनी के.सी.ले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
प्रतियोगितामा शिक्षकहरु धु्रवराज अर्याल, हिमाल पाण्डे र प्रकाश चापागाईले निर्णायकको भूमिकामा रहेर विद्यार्थीहरुलाई पृष्ठपोषण प्रदान तथा मूल्याङ्कनको कार्य गर्नुभएको थियो ।