प्रकाश न्यौपाने
जेष्ठ २१ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटबाट भन्सार छली गरी ल्याइएका करिब साढे ३० लाख रुपैयाँ बराबरका अवैध सामग्रीहरू प्रहरीको टोलीले बरामद गरेको छ। तीमध्ये पित्तलका मूर्ति र मोबाइलका विभिन्न सामग्री रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार बर्दघाट नगरपालिका–६ स्थित बेतहानी क्षेत्रबाट ती सामग्रीहरू बरामद गरिएको हो।
बरामद गरिएका सामग्रीमा करिब १५ लाख रुपैयाँ बराबरका मोबाइल ग्लास, ८ लाख बराबरका एयरफोन, ६ लाख बराबरका एयरपड र मोबाइल कभरहरू रहेका छन्। त्यसैगरी विभिन्न आकृतिका ३७५ थान पित्तलका भगवानका मूर्ति पनि बरामद गरिएका छन्, जसको मूल्य करिब १ लाख ६३ हजार रुपैयाँ रहेको बताइएको छ।
प्रहरीका अनुसार ती सामग्रीहरू सडक किनारमा प्लाष्टिकमा बेवारिसे अवस्थामा फेला परेका थिए।बरामद गरिएका सबै सामग्रीहरू मंगलबार राति थप अनुसन्धान तथा कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरी स्रोतले जनाएको छ।