पोर्चुगलमा टंक सापकोटाले सञ्चालन गरेको रेष्टुरेन्ट युरोपकै उत्कृष्ट १० मा पर्न सफल, प्राप्त गर्यो एकसाथ दुई अवार्ड

प्रकाशित मिति:

लिस्बन । इटालियन खानाका लागि युरोपमा प्रख्यात नेपाली सेफ टंक सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुरेन्टले उत्कृष्ट अवार्ड प्राप्त गर्न सफल भएको छ ।

युरोपका उत्कृष्ट ५० पिज्जा रेष्टुरेन्ट अन्तर्गत सेफ सापकोटाले राजधानी लिस्बनमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ युरोपकै शिर्ष १० मा पर्न सफल भई उत्कृष्ट अवार्डबाट पुरस्कृत भएको हो । रेष्टुरेन्ट शिर्ष १० को अवार्डसँगै “परफर्मेन्स अफ द इयर २०२५-रोबो अवार्ड” गरि एकसाथ दुई अवार्डबाट पुरस्कृत भएको हो । ‘फिफ्टी टप पिज्जा युरोप’ ले स्पेनको राजधानी म्याड्रिडमा आयोजना गरेको कार्यक्रममा सापकोटालाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

पोर्चुगलकै पहिलो रेष्टुरेन्ट युरोपको शीर्ष १० मा ‘र्फोनो दी ओरो’

युरोपकै शिर्ष १० मा पर्ने ‘र्फोनो दी ओरो’ रेष्टुरेन्ट पोर्चुगलकै पहिलो रेष्टुरेन्ट बन्न समेत सफल भएको छ। प्रत्येक वर्ष प्रदान गरिने अवार्ड अन्तर्गत यस वर्ष ‘युरोपको उत्कृष्ट १०औँ पिज्जेरिया’ र ‘परफर्मेन्स अफ द इयर २०२५–रोबो अवार्ड’ प्राप्त गरेको रेष्टुरेन्टका सञ्चालक सापकोटाले जानकारी दिए । ‘र्फोनो दी ओरो’ युरोपको उत्कृष्ट १०औँ र सर्वोत्कृष्ट रेष्टुरेन्ट बन्नसमेत सफल भएको उनले बताए । ‘र्फोनो दी ओरो’ युरोपको उत्कृष्ट १०औँ मा पर्ने पोर्चुगलको इतिहासमै पहिलो सर्वोत्कृष्ट रेष्टुरेन्ट बन्न सफल भएको सेफ सापकोटाले बताए। “एउटा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्ट युरोपकै उत्कृष्ट १० भित्र पर्न सफल हुनु नेपाल र नेपालीका लागि गौरवको विषय हो”, खुसी व्यक्त गर्दै सापकोटाले भने, “उत्कृष्ट १० को अवार्ड पाउने पोर्चुगलकै पहिलो रेष्टुरेन्ट बन्नु आफ्नो व्यावसायिक जीवन र इतिहासकै ठूलो उपलब्धि हो ।”

परफर्मेन्स अफ द इयर’ सहित एकसाथ दुई अवार्ड

नेपाली सेफ सापकोटाको रेष्टुरेन्ट‘र्फोनो दी ओरो’ले शिर्ष १० को अवार्डसँगै “परफर्मेन्स अफ द इयर २०२५-रोबो अवार्ड” समेत प्राप्त गर्न सफल भएको छ । रेष्टुरेन्टले एकसाथ दुई अवार्ड प्राप्त गर्दै ऐतिहासिक सफलता हात पारेको हो । यो उपलब्धिसँगै ‘र्फोनो दी ओरो’ पोर्चुगलको इतिहासमै युरोपको शीर्ष १० मा पुग्न सफल पहिलो रेष्टुरेन्ट बनेको छ।

अन्तर्राष्ट्रिय गाइडको मूल्याङ्कनमा शीर्ष स्थान

‘फिफ्टी टप पिज्जा युरोप’ एक अन्तर्राष्ट्रिय गाइड हो । जसले प्रत्येक वर्ष युरोपभरका पिज्जा रेष्टुरेन्टहरूलाई स्वाद, गुणस्तर, सेवा, वातावरण, परम्परागत निर्माण शैली र ग्राहक सन्तुष्टिका आधारमा मूल्याङ्कन गरी शीर्ष ५० सूची सार्वजनिक गर्छ। सोही फिफ्टी टप पिज्जाले गरेको मूल्यांकन अन्तर्गत सापकोटाले सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ युरोपकै शिर्ष १० मा पर्न सफल भई उत्कृष्ट अवार्डबाट पुरस्कृत भएको हो । रेष्टुरेन्टले शिर्ष १० को अवार्डसँगै “परफर्मेन्स अफ द इयर २०२५-रोबो अवार्ड” प्राप्त गरेको हो ।

झण्डै २८ वर्षदेखि पोर्चुगलमा सपरिवार बस्दै आएका बागलुङ, दमेकका सापकोटाले हाल राजधानी लिस्बनमा तीनवटा इटालियन र एक नेपाली गरी चारवटा रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । पाककलामा उत्कृष्ट कला कौशल प्रदर्शन गरेकै कारण यसअघि पनि उनले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गरिसकेका छन् । केही महिनाअघि मात्रै इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटेर सापकोटाले निर्माण गर्नुभएको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘इटालीको स्वाद’ सार्वजनिक गरिएको थियोे । यस्तै गत वर्ष मात्रै सापकोटाले तालिमप्राप्त कुकुर, इटालियन ट्रफल सिकारीको सहयोग तथा इभोरा विश्वविद्यालयसँगको सहकार्यमा पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल (जमिनमुनि पाइने कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका थिए। सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरी ल्याएका विश्वकै ठूलो र दुर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए।

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को)ले इटालीको प्रख्यात ‘नापोलितान पिज्जा’ बनाउने कलालाई विश्वसम्पदा सूचीमा समावेश गरेको छ। जसमा सापकोटाले सञ्चालन गरेको रेष्टुरेन्ट ‘र्फोनो दी ओरो’ उक्त सूचीमा सूचीकृतसमेत छ। जुन रेष्टुरेन्टमा सुनको जलप लगाइएको चुल्होमा पिज्जा पकाउने गरिन्छ ।

सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकालार्ई ‘एकमहिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर निःशुल्क खानासमेत खुवाएका थिए ।