चापाकोट अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना, नगरप्रमुख खाँणबाट उद्घाटन
स्याङ्जा — चापाकोट नगरपालिका–९ स्थित चापाकोट अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको छ। उक्त केन्द्रको उद्घाटन नगरप्रमुख देवबहादुर खाँण (ईश्वर) ले आज एक कार्यक्रमबीच गर्नुभयो। उद्घाटन समारोहमा नगरप्रमुख खाँणले सर्पदंश उपचार केन्द्र स्थापना भएसँगै अब सर्पले डसेका बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। साथै, अब सर्पदंशको उपचारका लागि बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको पनि उहाँले बताउनुभयो।
नगरप्रमुखका अनुसार, आफ्नै पहलमा स्याङ्जा जिल्लामै पहिलोपटक यस्तो उपचार केन्द्र स्थापना गरिएको हो। यसले स्याङ्जा मात्र नभई छिमेकी जिल्ला तनहुँ, पाल्पालगायतका जनतालाई पनि सहज हुने अपेक्षा गरिएको छ।सर्पदंश उपचार केन्द्रमा आवश्यक सबै उपकरणहरू जडान भइसकेको र उपचार सेवा सुरु भएको चापाकोट अस्पतालका डा. अर्जुन पाण्डेले जानकारी दिनुभयो। सेवा सुरु भएसँगै स्थानीयवासी उत्साहित देखिएका छन्।










