प्रकाश न्यौपाने
असार ३ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा कपडा बैकको स्थापना भएको छ । “कोही कपडा विहीन नरहोस्” भन्ने मुलमन्त्रका साथ बर्दघाटमा कपडा बैक स्थापना गरिएको छ। बर्दघाट जेसिज, कपडा बैंक नेपाल र बर्दघाट नगरपालिकाको संयुक्त पहलमा सुरु गरिएको यस अभियानले विपन्न र संकटमा परेका व्यक्तिहरूलाई राहत दिने विश्वास लिएको छ।
बर्दघाट नगरपालिका–४ स्थित बर्दघाट नगरपालिकामा कपडा बैकको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा स्वागत मन्तव्य दिंदै कपडा बैक नेपालका अध्यक्ष कमल जिसीले घरमा प्रयोगमा नआएका कपडाहरू संकलन गरी प्रशोधन गरेर निशुल्क वितरण गरिने जानकारी दिनु भयो । “पुराना कपडालाई जलाउनु वा फाल्नुको सट्टा पुनःप्रयोग गर्नु नै सबैभन्दा उपयुक्त विकल्प हो,” उहाले भन्नु भयो । उहाका अनुसार हालसम्म १६५ वटा स्थानीय तहसँग समन्वय गरेर कपडा बैक सञ्चालनमा ल्याइएको छ भने वार्षिक ३६ हजारदेखि ४० हजार कपडा संकलन गर्ने लक्ष्य राखिएको छ।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले विपद् व्यवस्थापन समितिमार्फत रेडक्रससँगको सहकार्यमा विगतमा पनि कपडा वितरण गर्दै आएको स्मरण गर्दै कपडा बैकले दीर्घकालीन समाधान दिने विश्वास व्यक्त गर्नु भयो । “कपडा नपाउनेलाई अब सहजै वितरण गर्न सकिने भएकाले यो प्रयास निकै उपयोगी हुनेछ,” उहाले भन्नु भयो ।
बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले आपतकालीन अवस्थामा यसले थप सहजता ल्याउने बताउनु भयो । “अब यो थालनीलाई अन्य क्लस्टरमा विस्तार गर्ने योजनामा छौं,” उहाले भन्नु भयो ।
कार्यक्रममा पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष केशव पराजुली, बर्दघाट जेसिसका संस्थापक अध्यक्ष राजु न्यौपाने, बर्दघाट खानेपानीका अध्यक्ष दिपक लम्साल लगायतले कपडा बैकको स्थापनाले बिपन्न घर परिवारलाई कपडा उपलब्ध गराउन सहयोग पुग्ने धारणा राख्नु भयो । उहाहरूले यस्तो कार्यक्रमले समाजमा दानको संस्कृति विकास गर्दै, गरिबीका खाडलहरू कम गर्न मद्दत गर्ने बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष एवं बर्दघाट जेसिजका अध्यक्ष मोहन सापकोटाले स्थानीय सरकार र विभिन्न संघसंस्थासँग समन्वय गर्दै जेसिसले अभियान सञ्चालन गर्ने बताउनु भयो । बर्दघाटका युवालाई काम र भुमिका दिदै निति निर्माण तहमा युवालाई सम्लग्न बनाउनु पर्ने धाराणा राख्दै सापकोटा भन्नु हुन्छ,-“हामी अब विपद् परेपछि मात्र होइन, नियमित रूपमा कपडा संकलन गर्दै बैक सञ्चालन गर्छौं ।” शुभारम्भ चरणमा बर्दघाटदेखि दाउन्नेसम्मको सडक खण्डमा काम गरिरहेका करिब ३०० मजदुरलाई कपडा वितरण गरिने सापकोटाले भन्नु भयो ।
कपडा बैकको सञ्चालन बर्दघाट नगरले गर्न र त्यसको समन्वय बर्दघाट जेसीजले गर्ने भएको छ ।