
दाउन्ने सडक खण्डमा अवरुद्ध, सयौं सवारी रोकिदा हजारौं यात्रुको गन्तव्य अन्यौलमा
प्रकाशित मिति:
प्रकाश न्यौपाने
असार ४ गते
नवलपरासी । गएरातिको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट–दुम्किबास सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। विनयी खोलामा अस्थायी रूपमा निर्माण गरिएको डाइभर्सन बगाएपछि बुधबार बिहान ५ बजेदेखि सवारी आवागमन ठप्प भएको हो । सडक अवरुद्ध हुदा सयौं सवारी साधन जाममा परेका छन भने तिनी साधनमा सवार हजारौं यात्रुको गन्तव्य अनिश्चित बनेको छ ।
विनयी खोलामा रहेको पुरानो पुल केही महिना अघि भत्किएपछि ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले डाइभर्सनमार्फत सडक सञ्चालन गर्दै आएको थियो। तर, सामान्य वर्षामै खोलामा आएको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा समस्या दोहोरिने गरेको छ।
पूल निर्माणमा ढिलाइ हुँदा वर्षायाम सुरु भइसक्दा समेत स्थायी समाधान नहुँदा यात्रु तथा सवारी चालकले बारम्बार सास्ती भोग्नुपरेको छ। निर्माण कम्पनीका अनुसार पुलको ढलान कार्य केही दिनअघि मात्र सकिएको भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्नेछ।
डाइभर्सन बगाएपछि बर्दघाट क्षेत्रमै करिब ५ सय बढी सवारी साधन रोकिएका छन् भने दुम्किबास क्षेत्रमा १ हजार २ सयभन्दा बढी सवारी थन्किएको ट्राफिक प्रहरी कार्यालयका अधिकारीहरूले जनाएका छन्। दुम्किबास ट्राफिक प्रहरीका वरिष्ठ ट्राफिक नायब निरीक्षक विनोद जोशीका अनुसार बिहान १० बजेसम्म पनि विनयी खोलाको वहाव घटेको छैन, जसका कारण नयाँ डाइभर्सन बनाउन कठिनाइ भएको हो।
जोशीका अनुसार पानीको बहाव नघटेसम्म डाइभर्सन निर्माण सम्भव छैन र वहाव घटे पनि सडक खुल्न कम्तीमा ४ घण्टा लाग्ने अनुमान गरिएको छ।
यात्रुवाहक र साना सवारीलाई भने वैकल्पिकरूपमा होङसी सिमेन्ट उद्योगको गेट हुँदै मार्ग परिवर्तन गराएर सञ्चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ। केहि बेरमा एक तर्फी रुपमा सडक सञ्चालनको तयारी भइरहेको छ ।

थप समाचार
जनसंघर्ष ३६औं वर्षमा प्रवेश
२ दिन अघि