प्रकाश न्यौपाने
असार १० गते
नवलपरासी । बर्दघाट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९७ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले सोमबार सम्पन्न १६औं नगरसभाबाट बजेट प्रतिवेदन सार्वजनिक गर्नुभएको हो।
नगरपालिकाको कुल बजेटमध्ये ५७ करोड ४७ लाख रुपैयाँ चालू खर्चतर्फ तथा ४० करोड २७ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। संघीय सरकारबाट ५३ करोड ७० लाख, प्रदेश सरकारबाट ३ करोड ५७ लाख ३८ हजार, आन्तरिक स्रोत (गत वर्षको अवशेषसहित) बाट १६ करोड तथा राजस्व बाँडफाँडबाट २३ करोड ९४ लाख ६२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
नगरपालिकाले नागरिकको लागत सहभागिताबाट ५० लाख रुपैयाँ संकलन हुने विश्वास राखेको छ भने विपद् व्यवस्थापन कोषमा ४० लाख र नमुना वडा विकास कार्यक्रमतर्फ १ करोड रुपैयाँ छुट्याइएको छ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रस्तुत बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको जानकारी दिनुभयो। उहाँले नगर गौरवका योजनाहरुलाई समेत प्राथमिकता दिइएको भन्दै, वडाबाट प्राप्त योजनालाई आधार मानेर बजेट संशोधन गरिएको बताउनुभयो।
यसैगरी नगरसभाले कार्यकाल सकिएका सबै विषयगत समितिहरूलाई विघटन गरेको छ र नयाँ समितिहरू पुनर्गठन गरेर अगाडि बढ्ने निर्णय गरेको छ। नगरसभाले विभिन्न विधेयक तथा ऐनहरू समेत सर्वसम्मतिले पारित गरेको छ। अन्तिम नगरसभा असार २७ गते बस्ने कार्यक्रम तय भएको छ।