बुटवल। भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरि भारत हुँदै बुटवल स्थित आफ्नो घर आइपुगेका २ जना बुटवलबासीलाई बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले भेट गरेका छन् । इरानको तेहरानबाट घर फर्केका बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई उनीहरुको घरमै पुगेर नगर प्रमुख पाण्डेले भेट गरेका हुन् ।
इरानबाट भारत हुँदै बेलहिया सीमानाकाबाट बुटवल आइपुगेका पोखरेल र गैरेलाई घरमा पुगेर भेटघाट गरेको नगर प्रमुख पाण्डेले बताए । बुटवल १२ का गणेश पोखरेल र बुटवल १३ का सुमन गैरे आजै अपरान्ह बेलहिया हुँदै आफ्नो घर आइपुगेका हुन् । भेटका क्रममा उनीहरूले नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफुहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुसल आईपुगेको बताए। नगर प्रमुख पाण्डेयले स्थानीय सरकारका रूपमा हुनसक्ने सहयोग र भूमिका निर्वाह गर्ने संघ सरकारसँग आवश्यक पहल गर्ने बताए।