बुटवल असार । आज २२ औं राष्ट्रिय धान दिवस,धान बालीमा सघनता स् खाद्यसुरक्षा र आत्मनिर्भरता भन्ने नाराका साथ देशभर मनाइएको छ । देशभर धान दिवस मनाइरहँदा बुटवलमा करिब ४० प्रतिशत धान रोपाई सकिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।बुटवल उपमहानगरपालिकामा ३ हजार १४४ हेक्टर खेतीयोग्य जमिन रहेकोमा २ हजार ९६० हेक्टर जग्गामा धान खेती हुदै आएको बुटवल उपमहानगरपालिकाका कृषि विकास अधिकृत सोमन प्रसाद कुर्मीले जानकारी दिए । त्यसमध्ये करिब ४० प्रतिशत खेतमा धान रोपाइ सकिएको उनले बताए ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले कृषि पेसालाई सम्मानित पेसाको रूपमा स्थापित नगरेसम्म मुलुक समृद्ध बन्न नसक्ने भन्दै “बुटवलका किसान,हाम्रो सान ” भन्ने नाराका साथ कृषि सुधारका कार्यक्रम अगाडि बढाएको जानकारी दिए ।जबसम्म कृषि र उत्पादनलाई प्राथमिकतामा राख्दैनौ तबसम्म मुलुक समृद्ध बन्न सक्दैन उनले भने ” कृषिमा प्रविधिको प्रयोग गरि उत्पादन बृद्वि गर्ने बुटवलको योजना छ ।”शिक्षा,स्वास्थ्य र ब्यापारका अलावा कृषि र पशुपालनलाई पनि बुटवल उपमहानगरपालिकाले उत्तिकै महत्व दिएको भन्दै नगर प्रमुख पाण्डेयले सामुहिक खेती प्रणालीमा जोड दिइएको बताए ।कृषि र पशुपालन मार्फत बुटवलवासीको जिवनस्तर माथि उठाउन बुटवल उपमहानगरपालिकाले ९ जना वा सो भन्दाबढीको समूह बनाई परम्परागत वा आधुनिक कृषि वा पशुपालन गर्ने समुहलाई ट्याक्टर,हातेट्याक्टर मलखाद,बिउबिजन,गोठ सुधार रकम वा फार्म सुधारका लागि रकम तथा विभिन्न खालका सहयोग गर्ने योजना अगाडि बढाइएको नगर प्रमुख पाण्डेयले बताए ।उपप्रमुख सावित्रा देवी अर्यालले पनि कृषिलाई प्रविधिसँग जोडेर उत्पादन बृद्वि गर्नुका साथै कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन बुटवल उपमहानगरपालिकाले करोडौं बजेट छुट्टयाइएको जानकारी गराइन् ।
बुटवललाई धुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन स्वरूप अनुदान दिन आगामी आर्थिक बर्षका लागि ५० लाख बजेट छुट्टयाइएको भन्दै उनले शहरी क्षेत्रमा स्वस्थ वाली उत्पादन कार्यक्रम अन्तर्गत कौशी,करेसाबारी,पुष्पखेती तथा जैविक मल उत्पादन प्रशोधन र बजारिकरणका लागि पनि बजेट बिनियोजन गरिएको बताइन् ।बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले शिक्षा र स्वास्थ्यका साथै बुटवल उपमहानगरपालिकाले कृषिलाई पनि उत्तिकै महत्व दिएर बजेट बिनियोजन गर्दै आएको उल्लेख गर्दै त्यसबाट प्रतिफल राम्रो आएको दाबी गरे ।










