दाउन्नेदेवी मा.बि.को ऎतिहासीक नतिजा आएपछि विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान

प्रकाशित मिति:

 

असार १६ गते
नवलपरासी । बर्दघाट नगरपालिकामा ४ मा रहेको दाउन्नेदेवी माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हासिल गरेको छ। ऎतिहासिक नतिजा प्राप्त भए पछि सोमबार विद्यालयले विद्यार्थी, अभिभावक र शिक्षकलाई खादा फुल र टीका लगाएर सम्मान गरिएको छ ।


विद्यालयबाट सहभागी ५६ जना विद्यार्थीमध्ये ४९ जना उत्तीर्ण भई ८७.५ प्रतिशत नतिजा हासिल भएको छ। बिद्यालयका प्रधानाध्यापक नेत्रलाल न्यौपानेका अनुसार १० जना विद्यार्थीले ३.६ देखी ४ जिपिए, १२ जनाले ३.२ देखी ३.६ जिपिए, ११ जनाले २.८ देखि ३.२ जिपिए, र १६ जनाले २.४ देखी २.८ जिपिए ल्याएका छन्। यस नतिजालाई विश्लेषण गर्दा बर्दघाट नगरपालिकाका सामुदायिक विद्यालयहरूमा पहिलो स्थान र पश्चिम नवलपरासीका सामुदायिक विद्यालयहरूमध्ये तेस्रो स्थान हासिल गरेको प्रअ न्यौपानेले उल्लेख गर्नु भयो ।


विद्यालयको यस सफलतामा नगर प्रमुख शम्भुलाल श्रेष्ठले विद्यार्थी, शिक्षक र अभिभावकलाई बधाई दिँदै नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर कार्य गरिरहेकाले यसको सकारात्मक परिणाम देखिएको बताउनुभयो। “नगरले शिक्षाको गुणस्तर वृद्धिका लागि निरन्तर काम गरिरहेको छ, र यसको प्रमाण नै यो उत्कृष्ट नतिजा हो,” श्रेष्ठले भन्नुभयो।


उपप्रमुख रुद्र प्रकाश उपाध्यायले पनि बधाई दिंदै यस सफलताले आगामी दिनमा थप जिम्मेवारी र चुनौती थपिएको उल्लेख गर्नुभयो। नगर प्रवक्ता तथा वडा नम्बर १४ का अध्यक्ष सन्त बहादुर गाहा, वडा नम्बर ४ का अध्यक्ष बेदबिना तिवारी र वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले विगत वर्षको २१ प्रतिशत नतिजाबाट यस वर्ष ८७ दशमलव ५ प्रतिशतमा पुर्‍याउनु गर्वको विषय भएको बताउँदै विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।


विद्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाका लागि शुभकामना प्रदान गरेको थियो। कार्यक्रममा प्रधानाध्यापक नेत्रलाल न्यौपानेले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र लगनका साथ आगामी शैक्षिक यात्रामा पनि सफल हुन आग्रह गर्नुभयो। “विद्यालयले संस्कार सहितको शिक्षा र व्यवहारिक ज्ञान सिकाउँदै आएको छ, विद्यार्थीहरूले लक्ष्य केन्द्रीत अध्ययन गरी भविष्यका योजनाहरू अहिलेदेखि नै बनाउनुपर्छ,” उहाँले भन्नुभयो।


विद्यालयको नेतृत्व परिवर्तनसँगै विद्यालयको शैक्षिक सुधारमा आमूल परिवर्तन भएको सम्मान हुने अभिभावक र विद्यार्थीले उल्लेख गर्नु भएको छ । विद्यालय व्यवस्थापन समिति सदस्य रमेश बस्यालको अध्यक्ष रहेको कार्यक्रममा सहायक प्रअ धन बहादुर चौधरीले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन शिक्षक भोजराज चापागाईंले गर्नुभएको थियो ।

थप समाचार