
काङ्ग्रेसको राष्ट्रिय गुटगत राजनीति चेपुवामा लुम्बिनी प्रदेशका महामन्त्री खनाल
प्रकाशित मिति:
प्रकाश न्यौपाने
असार १८ गते
नवलपरासी । नेपाली कांग्रेसको गुटगत राजनीतिको चेपुवाना लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल पर्नु भएको छ । खनालमाथि कारबाहीको चर्चा चुलिँदै जाँदा कांग्रेस राजनीतिमा थप तरंग उत्पन्न भएको छ। पार्टीको चलिरहेको केन्द्रिय कार्यसमितिको बैठकमा समेत प्रत्यक्ष रुपमा गुटगत राजनीतिको चेपुवामा खनाल परेको प्रष्ट देख्न सकिन्छ ।
महामन्त्री खनाल काग्रेसका वरिष्ठ नेता शेखर कोइराला पक्षका नेता हुन भने उनिलाइ कार्वाहीको माग गर्ने केन्द्रिय सदस्यद्वय देबेन्द्रराज कंडेल र बिनोद चौधरी सस्थापन पक्षका नेता हुन । केहि दिन देखी चलिरहेको काङ्ग्रेसको बैठकमा नेताहरुले धारणा राख्दा नै गुटगत रुपमा नै धारणा राखिरहेको प्रस्ट छ । कोइराला बोल्दा खनालको बचावटमा बोल्नु भयो भने कंडेल र चौधरीले खनाललाइ कार्वाही गर्नु पर्ने धारणा राख्नु भयो ।
खनालको विरुद्धमा जिल्ला र प्रदेशमा कुनै पनि उजुरी छैन । भने केन्द्रमा खनालको कारवहीको लागी उजुरी दर्ता भएको छ । पार्टीको बिधान अनुसार जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रलाई कार्वाहीको लागी पठाउनु पर्ने हुन्छ । पार्टी विधान विपरीत कारबाहीको हल्ला फैलाइएको भन्दै महामन्त्री खनालले कडा आपत्ति जनाउनु भएको छ भने उहाँका पक्षधरले नेतृत्व तहमा नै गम्भीर प्रश्न उठाएका छन्। मंगलबार नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री खनालले आफूविरुद्ध कुनै प्रकारको औपचारिक उजुरी जिल्ला वा प्रदेश कार्यसमितिमा नपरेको स्पष्ट पार्दै पहुँच र पैसाको बलमा आफूलाई गलत रूपमा लक्षित गरिएको आरोप लगाउनु भयो। ‘‘पार्टीको विधानले निर्धारित गरेको प्रक्रिया अनुसार कुनै पनि नेता वा कार्यकर्तामाथि कारबाही अघि बढ्नुपर्दछ। तर मेरो हकमा न त जिल्ला कार्यसमितिमा उजुरी परेको छ, न प्रदेशमा,’’ महामन्त्री खनालको भनाइ थियो।
महामन्त्री खनालले पार्टी नेतृत्वमा ‘परिवारवाद, धनवाद र डनवाद’ मौलाउँदै गएको आरोप समेत लगाउनु भयो। ‘‘लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेसमा निष्ठा र विचारको राजनीति मक्किँदै गएको छ,’’ उहाँले भन्नु भयो।
महामन्त्री खनालमाथि पछिल्लो निर्वाचनमा पार्टीका अधिकृत उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको आरोप छ। कांग्रेसका पश्चिम नवलपरासी जिल्ला अध्यक्ष अर्जुन पोख्रेलका अनुसार जिल्लाबाट मात्रै दुई हजारभन्दा बढी नेता–कार्यकर्तालाई कारबाहीका लागि सिफारिस भइसकेको छ भने महामन्त्री खनालको विषयमा समेत केन्द्रमा उजुरी पुगेको बताइएको छ।
तर खनाल पक्षका नेता–कार्यकर्ताहरूले यसलाई संगठनलाई कमजोर पार्ने षड्यन्त्रको रूपमा लिएका छन्। जिल्ला सचिव कुलदीप आचार्यले विधानअनुसार जिल्ला कार्यसमितिमा उजुरी नपरी सिधै केन्द्रमा पेश गरिएकोमा गम्भीर आपत्ति जनाउनु भयो। ‘‘पैसावालाहरूको पहुँच र हस्तक्षेपका कारण एकजना निष्ठावान र संगठन निर्माणमा समर्पित नेतामाथि सारा शक्ति लगाएर प्रहार गर्ने प्रयास भएको छ,’’ सचिव आचार्यले टिप्पणी गर्नु भयो।
महामन्त्री खनालले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै निर्वाचनमा केही स्थानीय तहमा पार्टीलाई सशक्त बनाउने गरी योगदान गरेको दाबी गर्नुभयो। ‘‘प्रतापपुर, बर्दघाट र सुस्तामा पार्टीको साख जोगाउन म निरन्तर सक्रिय थिएँ,’’ उहाँको भनाइ छ।
यता शेखर कोइराला समूहले खनालमाथि कारबाही नगर्नुपर्ने अडान राख्दै सांसद बिनोद चौधरीको केन्द्रीय सदस्यताको योग्यतामाथि समेत प्रश्न उठाएको छ। अर्कोतर्फ सांसद चौधरीले भने कोइराला समूहलाई अन्तरघातीलाई संरक्षण गरेको आरोप लगाउनुभएको छ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समेत पार्टीको विधान र आचारसंहिताको पालना गर्दै समान मापदण्डमा मात्रै कारबाही अघि बढाउनुपर्ने धारणा राख्नुभयो। ‘‘कारबाही गर्ने भए निर्वाचनलगत्तै प्रक्रिया सुरु हुनुपर्थ्यो। तीन वर्ष बितिसकेपछि यस्तो विषय उठाइनु अनुचित हो,’’ सभापति पुनको भनाइ थियो।
खनाल पक्षका नेता विश्वप्रेम पाठकले कारबाही भएमा समग्र संगठन नै दीर्घकालीन रूपमा कमजोर हुने चेतावनी दिनुभयो। उहाँले अहिले खनाल पक्षका नेता–कार्यकर्ताहरूले सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म खनाललाई निरन्तर समर्थन जनाइरहेको जानकारी दिनुभयो।
महामन्त्री खनालले पनि पार्टीभित्र रहेका अनुचित चलखेल, सामन्तवाद र डनवादविरुद्ध दृढताका साथ लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘‘सच्चा कार्यकर्ताहरूको तेजोबध गर्न कसैलाई छुट छैन,’’ उहाँले भन्नुभयो।
जिल्ला समितिमा खनाल समूह बलियो भएकाले सिधै केन्द्रमा उजुरी पुर्याइएको स्रोतको भनाइ छ। शेखर समूहका नेता सञ्जय गौतमले अनुशासन समितिमा उजुरी दर्ता गराए पनि उहाँले यसबारे कुनै प्रतिक्रिया दिनुभएन।