प्रकाश न्यौपाने
असार २१ गते
नवलपरासी । पश्चिम नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरदत्त पन्तका अनुसार पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ स्थित झरहीखोलामा शुक्रबार बिहान महेशपुर–भुजहवा भित्री सडकखण्डको मोडमा बसले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो।
दुर्घटनामा परी प्रतापपुर गाउँपालिका वडा नम्बर ४ पाचपेडा निवासी २१ वर्षीय भोला राजभर र रामग्राम नगरपालिका वडा नम्बर १५ डिगौलका १८ वर्षीय राहुल राजभरको ज्यान गएको पन्तले जानकारी दिनुभयो।
लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई लु २ ख ६५४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न बससहित बसका चालक रामग्राम इमिलिटोल निवासी ३१ वर्षीय सद्दाम अली अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।