गल्याङमा ‘एक घर, एक धारा’ अभियान

प्रकाशित मिति:

स्याङ्जा । बेरोजगार युवालाई प्रधानमन्त्री कार्यक्रमबाट रोजगारी दिने कार्यक्रम सफल हुन थालेका छन् । कार्यक्रमको प्रयोगलाई केही पालिकाहरुले सदुपयोग गर्न थालेपछि सफल हुन पुगेको देखिएको छ । कतिपय पालिकाले यो कार्यक्रमको दुरुपयोग गर्दा महालेखापरीक्षकले समेत प्रश्न उठाइरहेको छ । यो कार्यक्रमलाई राम्रोसगँ सदुपयोग गर्ने हो भने विकाससगै रोजगार मिलेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको गल्याङ नगरपालिकाले सदुपयोग गरेर उदाहरणीय देखाएको छ । खानेपानीको निकै समस्यामा रहेको गल्याङ २ टकुन्चौर गाउँको मुहार यो कार्यक्रमले फेरिएको छ । झण्डै ३ सय मिटर तलबाट पानी बोकेर लामो समयदेखी गुजारा चलाउदै आएका टकुन्चौरका वासिन्दालाई यो कार्यक्रम मार्फत ‘एक घर, एक धारा’ उपलब्ध गराइएको छ । जसले गर्दा यहाँका वासिन्दाहरुलाई पानी बोकेर ल्याउने समस्या टरेको छ । ३५ घरधुरी रहेको यो बस्तीमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ३५ ओटै खानेपानीका धारा निर्माण गरिएको छ । झण्डै १ सय ८० घरपरिवार यो कार्यक्रम मार्फत लाभान्वित भएको गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए ।

गल्याङ नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उक्त टोललाई खानेपानीका धारा निर्माण गरिएको नगर प्रमुख भट्टराईले बताए । मंसिरबाट शुरु गरिएको यो योजना असारमा सकिएको छ । नगर प्रमुख भट्टराईले ‘एक घर, एक धारा’ कार्यक्रमको शुभारम्भ गरी आयोजना संचालनमा ल्याएका छन् । यो अभियानका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख ज्यालामा खर्च भएको र अन्य सामाग्री नगरपालिकाले उपलब्ध गराएको थियो । सुचिकृत बेरोजगारदाताका लागि रोजगार पनि भएको र आफ्नै गाउँमा विकास पनि भएकाले यो कार्यक्रमबाट सबै खुशी भएको नगर प्रमुख भट्टराईको भनाई छ । गल्याङ नगरपालिकाले यो कार्यक्रम मार्फत आर्थिक बर्ष २०८१÷०८२ मा पर्यटकीय क्षेत्रमा गोरेटो सगै बाटो ढलान गर्ने, सिंचाईका लागि कुलो बनाउने लगायतका काम गरेको रोजगार शाखाका प्रमुख खगेन्द्र भण्डारीले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी भएको र यसको सदुपयोग गर्ने हो भने रोजगार सगै विकासका योजनाहरु सम्पन्न गर्न सजिलो हुने भण्डारीले बताए । जहाँ समस्या छ त्यहाँ यो कार्यक्रमले सहजता दिएको नगरपालिकाको बुझाई छ । खानेपानीकै जोहोका लागि निकै समस्या व्यहोरेका टकुन्चौरका वासिन्दा घर—घरमा धारा आएपछि निकै खुशी भएको बताएका छन् । बिहानै उठेर खानेपानी खोज्न र पालो पर्खन पर्ने समस्या समाधान भएको स्थानीय सुमीसरा थापाले बताईन् ।