ठकुरी समाज पोर्चुगलको तीज विशेष कार्यक्रम, गायिका रचना रिमालको विशेष प्रस्तुति रहने

प्रकाशित मिति:

लिस्बन । ठकुरी समाज पोर्चुगलले तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर समाजले आईतवार राजधानी लिस्बनमा तीज विशेष साँस्कृतिक कार्यक्रम सँगै सामूहिक रुपमा दर खुवाउन लागेको हो । कार्यक्रममा चर्चित गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहने छ । भने गायिका गीता रेउले, गायक सागर शाह, गायिका रितिका कुँवर, गायक फणीन्द्र ठकुरी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजक संस्था ठकुरी समाज पोर्चुगलले जनाएको छ ।

नेपाली भाषा, कला र लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्धेश्य अनुरुप विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि प्रवासी मुलुक पोर्चुगलमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष सज्जन हमालले जानकारी दिनुभयो । पोर्चुगलबासी नेपाली दिदीबहिनीहरुलाई एकै स्थानमा भेला गराएर शुभकामना आदानप्रदान तथा सांगीतिक मनोरञ्जनका साथमा दर खुवाउन लागिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिदै अध्यक्ष हमालले कार्यक्रममा सहभागी हुन पोर्चुगलबासी नेपाली दिदीबहिनी तथा सम्पूर्ण नेपाली समुदायलाई बिशेष आग्रह समेत गर्नुभयो । कार्यक्रम अल्मेदा महात्मा गान्धीस्थित राधाकृष्ण मन्दिरको हलमा दिउँसो ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने समाजले जनाएको छ ।