
तराईबाट एकै दिनमा मुुस्ताङको मुक्तिनाथ पुुग्दा लेक लाग्ने लगायतका स्वास्थ्य समस्या हुने भएकाले पर्यटकहरु सचेत हुनुुपर्नेमा जोड
पोखरा । तराईबाट एकै दिनमा मुुस्ताङको मुक्तिनाथ पुुग्दा लेक लाग्ने लगायतका स्वास्थ्य समस्या हुने भएकाले पर्यटकहरु सचेत हुनुुपर्नेमा जोड दिइएको छ । करिब सय मिटर उचाईको तराई क्षेत्रबाट एकै दिनमा ३७१० मिटर अग्लो मुक्तिनाथमा पुुग्दा स्वास्थ्यमा समस्या देखिने भएकाले सरोकारवालाहरूले पर्यटकलाई ध्यानाकर्षण गराएका छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाले सुरक्षित घुमफिरका विषयमा सचेतना बढाउनु पर्नेमा जोड दिएको छ । भारत तथा तराई बाट मुस्ताङ यात्रामा निस्केका पर्यटकहरू पहिलो बास पोखरा वा बेनीबजारमा र दोस्रो बास मार्फा वा जोमसोममा बास बस्नु उपयुक्त हुन्छ। ‘छोटो समयमै एकैपटक होचो भूभागबाट २८ सय मिटर माथिको उचाइमा पुग्नु जोखिमपूर्ण हुन्छ’, घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भने, ‘पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा घुम्नु पर्दछ।’ एक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो। मृत्यु हुनेमा ६ नेपाली र बाँकी विदेशी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उक्त जिल्लामा मात्र वि।सं। २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा २ जना नेपाली र ९ जना विदेशी छन्। यिनमा भारतीय पर्यटकको संख्या बढी छ।