कुलमान घिसिङलाई पोर्चुगलमा नागरिक अभिनन्दन, ‘सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने जिकिर’

प्रकाशित मिति:

भरत प्रधान
लिस्बन । युरोप भ्रमणमा रहनुभएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पोर्चुगलमा भव्य स्वागतसहित नागरिक अभिनन्दन गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको आयोजनामा शनिबार राजधानी लिस्बनमा पूर्व कार्यकारी निर्देशक घिसिङलाई ‘उज्यालो नेपालका नायक’ का रुपमा भव्य स्वागतसहित अभिनन्दन गरिएको हो । सो अवसरमा सम्बोधन गर्दै घिसिङले राजनीतिक नेतृत्व सही नभएसम्म देशको विकास हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सबै समस्या नेतृत्व तहसँग जोडिने भएकाले देशको समग्र विकासका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने जिकिर गर्नुभयो।

“सही व्यक्ति सही ठाउँमा भए सबै कुरा सही नै हुन्छ । नेपालमा ‘राइट म्यान इन राइट प्लेस इन राइट टाइम’ नहुँदा समस्या देखिएको हो”,- घिसिङले भन्नुभयो । राम्रो गरौं भनेर आएकाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा निरुत्साहित गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले योग्य र राम्रा मान्छेलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । “नेपालमा केही भएको छैन भन्ने होइन, परिवर्तन भएको छ। सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा केही सुधार भएको छ, तर जुन परिवर्तन हुनुपर्ने हो, त्यो भएको छैन,” घिसिङले भन्नुभयो। रोजगारी सिर्जना गर्न नसक्दा युवाहरूको विदेश पलायन बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले देशमा ठूलो जनशक्तिको संकट देखापर्न सक्ने भन्दै यसलाई रोक्न गम्भीर हुनुपर्ने बताउनुभयो ।

विद्युत् प्राधिकरणको आफ्नो ३० वर्षे व्यवसायीक जीवनमा सधैं समर्पित भएर काम गरेको स्मरण गर्दै उहाँले घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएको र लोडसेडिङ अन्त्य गर्न सफल भएको बताउनुभयो ।“३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई हामीले नाफामा ल्यायौँ । त्यो नाफा विद्युत् महसुल बढाएर होइन, घटाएर ल्यायौँ । आठ वर्षमा करिब ९० अर्ब नाफा गर्न सफल भयौँ । त्यही अवधिमा लोडसेडिङ अन्त्य पनि ग¥र्यौँ । गाउँ–गाउँमा विद्युत् पू¥यायौँ, भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न समेत सफल भयौं”,–घिसिङले भन्नुभयो । लोडसेडिङ अन्त्य आफ्नो नेतृत्वको टोली र सबै नेपालीको सद्भाव र सहयोगले सम्भव भएको उहाँले बताउनुभयो ।

नेपालमा ५० हजारदेखि एक लाख मेगावाट सम्म विद्युत् उत्पादन गर्न सकिने क्षमता रहेको बताउँदै घिसिङले विद्युत् निर्यातबाट बिकास र समृद्धिसँगै शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरु निःशुल्क गर्न सकिने धारणा व्यक्त गर्नुभयो । सरकारले कार्यकाल सकिन चार महिना बाँकी रहँदै प्राधिकरणबाट हटाए पनि आफूले सरकारलाई धन्यवाद नै दिएको उहाँले बताउनुभयो । सबै क्षेत्रमा देखापरेको अँध्यारो हटाएर उज्यालो ल्याउने संकल्पसहित “उज्यालो नेपाल अभियान” सुरु गरिएको बताउँदै घिसिङले देशको विकास र समृद्धिका लागि उज्यालो नेपाल अभियानलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो टेवा पू¥याएको उल्लेख गर्दै उहाँले विदेशमा रहेका नेपालीकोे देशको अर्थतन्त्रमा ठूलो योगदान रहेको बताउनुभयो । अर्थतन्त्रमा टेवा पू¥यााएका प्रवासी नेपालीको योगदानलाई भने राज्यले सम्मान गर्न नसकेको उहाँको कथन थियोे । बिदेशमा बस्ने नेपालीले संविधानले दिएको मताधिकार समेत प्रयोग गर्न नपाएको भन्दै उहाँले बिदेशबाटै भोट हाल्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गैर आवासीय नेपालीका नागरिकताको समस्यालाई सम्बोधन गर्नुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

महासंघका अध्यक्ष चोपकुमार रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सल्लाहकार सोमफुरी शेर्पा, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, महासंघका वरिष्ठ उपाध्यक्ष सोनाम योञ्जन, प्रेमचन्द्र लिम्बु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।