निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन रुपन्देहीद्वारा निजामती सेवा दिवस २०८२ को अवसरमा मानबसेवा आश्रममा भोजन वितरण
बुटवल, भदौ । निजामती सेवा दिवस २०८२ को अवसरमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन रुपन्देहीले मानबसेवा आश्रममा रहेका आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीलाई भोजन खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । समाजसेवामुखी अभियानका साथ गरिएको उक्त कार्यक्रममा आश्रमका परिवारजनले हार्दिक प्रसन्नता व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेयले राज्यले गर्न कठिन ठानिएका सामाजिक उत्तरदायित्वका कामलाई मानबसेवा आश्रमले उदाहरणीय ढंगले गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले निजामती कर्मचारीहरूको सामाजिक उत्तरदायित्वले समाजमा सकारात्मक सन्देश पुगेको उल्लेख गर्दै यस्ता कार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गर्नुभयो ।
समारोह निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेश पाण्डेयको अध्यक्षता, सचिव रामप्रसाद शर्माको सञ्चालन तथा उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य नारायण भण्डारी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय सदस्य दिपक जिसी, विभिन्न कर्मचारी संगठनका अध्यक्षहरु चक्रपानी पाण्डेय, कमल पराजुली लगायत विभिन्न कार्यालयका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।समारोहमा बोल्ने वक्ताहरूले निजामती सेवा दिवस केवल कर्मचारीहरूको औपचारिकता मात्र नभई सामाजिक उत्तरदायित्वसहित समाजमा योगदान गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले मानबसेवा आश्रमले बेवारिसे, अशक्त तथा वृद्धवृद्धालाई दिएको सेवा प्रशंसनीय भएको भन्दै निजामती कर्मचारीहरूले गरेका यस्ता पहलहरूले समाजलाई थप प्रेरणा दिने बताएका थिए । कार्यक्रमका अध्यक्ष रमेश पाण्डेयले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन रुपन्देहीले भविष्यमा पनि यस्तै सामाजिक एवं सेवामुखी गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कर्मचारी संगठन सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहनुपर्ने बताउनु भएको थियो ।










