जेन-जीका नाममा अपराधी कार्य गर्नेलाई सात दिन भित्र कारबाही गर्न माग 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
भाद्र ३१ गते
नवलपरासी — पछिल्लो समय जेन-जी आन्दोलनको आडमा पश्चिम नवलपरासीमा बढ्दै गइरहेको हिंसा, आगजनी, लुटपाट र अराजक गतिविधिबारे तीन प्रमुख नेताहरूले सार्वजनिक रूपमा आपत्ति जनाउँदै कडा कारबाहीको माग गरेका छन्।


जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले मंगलबार परासीमा संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको नाममा जनताको निजी सम्पत्तिमाथि आक्रमण गर्नु कदापि स्वीकार्य नहुने उल्लेख गर्नु भएको छ ।


तीन नेताहरूले आन्दोलनका नाममा भएको हिंसात्मक गतिविधि व्यक्तिगत रिसइबी, राजनीतिक प्रतिशोध र आपराधिक उद्देश्यबाट प्रेरित भएको आरोप लगाउनु भयो । उहाहरूका अनुसार केही गिरोहहरूले जेन-जी आन्दोलनको आडमा तोडफोड, आगजनी, लुटपाट र तस्करीजस्ता आपराधिक क्रियाकलाप गरिरहेका छन्।


पुर्व मन्त्री त्रिपाठीले भन्नु भयो, “जेन-जी आन्दोलनको मूल भावना नै कमजोर पार्ने गरी केही समूहले अराजकता मच्चाइरहेका छन्। व्यक्तिगत घरमा लुटपाट, उद्योगमा आगजनी गर्नु अपराध हो, आन्दोलन होइन।”


लुम्बिनी प्रदेशका मन्त्री देवकरण कलवारले जेन-जी आन्दोलनमा घुसपैठ गरेर यसलाई बदनाम गर्न खोज्ने तत्वलाई नचिनेर राज्यको मौनता दुःखद भएको बताउनु भयो । उहाले भन्नु भयो, “लुटपाट गर्ने, तस्करी गर्ने र आतंक मच्चाउनेहरू आन्दोलनकारी होइनन्। उनीहरूलाई संरक्षण दिने हो भने आन्दोलन र जनताको बीचमा गहिरो खाडल पर्छ।”

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवले आन्दोलनको आडमा सक्रिय आपराधिक गिरोहले स्थानीय जनजीवन नै त्रसित बनाएको भन्दै तत्काल कानुनी दायरामा ल्याउन माग गर्नु भयो । उहाँले चेतावनी दिँदै भन्नु भयो, “यदि एक साताभित्र दोषीमाथि कारबाही भएन भने स्थानीय जनताले नै उनीहरूलाई कारबाही गर्नेछन्, त्यसको जिम्मेवारी प्रशासनको हुनेछ।”


तीनै जना नेताले आजै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीलाई लिखित ज्ञापनपत्र बुझाउँदै अराजकता फैलाउने व्यक्ति र समूहमाथि एक साताभित्र कानूनी कारबाही सुनिश्चित गर्न माग गरेका छन्। जेन्जी आन्दोलनका क्रममा तिनै नेताको घर जलेको छ ।