पाँचौँ सुनवल महोत्सव १२ दिनसम्म सञ्चालन हुने, २ सय स्टल र १० करोड रुपैयाँको कारोबार हुने

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
कार्तिक १० गते

नवलपरासी । सुनवल उद्योग वाणिज्य संघको आयोजनामा मङ्सिर १० गतेदेखि २१ गतेसम्म १२ दिनसम्म सञ्चालन हुने “पाँचौँ सुनवल महोत्सव २०८२” आयोजना हुने भएको छ। “कृषि, उद्योग, व्यापार, कला र संस्कृति : समग्र सुनवलको उन्नति” भन्ने मूल नारासहित महोत्सव आयोजना गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले जानकारी दिएको हो।


संघका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन, सेवा र उद्योगको प्रवर्द्धन गर्नुका साथै परम्परागत उत्पादनलाई आधुनिक प्रविधिबाट रूपान्तरण गरी बजार विस्तार गर्नु रहेको छ। संघका अध्यक्ष रमेश कर्माचार्यका अनुसार, महोत्सवले उत्पादक, व्यापारी र उपभोक्ताबीचको सम्बन्ध सुदृढ गर्दै नयाँ सोच र अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ।


महोत्सवमा करिब २०० भन्दा बढी व्यापारिक स्टल रहने छन्। तीमध्ये १४५ व्यवसायी, १५ होटल, ३० महिला उद्यमी, ३ शैक्षिक संस्था, स्वास्थ्य, सञ्चार र ४ कृषि स्टल समावेश हुनेछन्। होटल, स्वास्थ्य, शिक्षा, कृषि, सूचना प्रविधि, निर्माण सामग्री, हस्तकला, जुत्ता, कपडा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादनका सामग्री प्रदर्शन गरिनेछ।


आयोजकले करिब ९ लाख दर्शकको उपस्थिति र १० करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान गरेको छ। उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा हुने यस महोत्सवलाई सुनवल नगरपालिकाले संरक्षण गरेको छ भने नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेश सहआयोजकका रूपमा रहनेछ।


अध्यक्ष कर्माचार्यका अनुसार महोत्सव सञ्चालन खर्च करिब ८० लाख रुपैयाँ रहनेछ र सो आम्दानी संघको भवन निर्माणमा प्रयोग गरिनेछ। यसपटक महोत्सवमा खेलकुदलाई प्राथमिकता दिइनेछ भने महिलालाई केन्द्रित गरी खेलकुद तथा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ। महिला उद्यमीलाई प्रोत्साहनका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ।


अन्य आकर्षणका रूपमा जनस्वास्थ्यसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण, विद्यालयद्वारा विज्ञान प्रदर्शनी र खाना महोत्सव, साथै कृषि प्रदर्शनका लागि कृषकलाई यातायात र खाना खर्चसहित पुरस्कार प्रदान गरिनेछ। धार्मिक, सांस्कृतिक र सामाजिक पक्षलाई सशक्त बनाउन विभिन्न कार्यक्रमहरू पनि समावेश गरिएका छन्।


महोत्सवमा सांस्कृतिक कार्यक्रम, खानपान महोत्सव, विज्ञान तथा कला प्रदर्शनी, बाल उद्यान, खेलकुद, म्युजिक शो, नृत्य तथा गायन प्रतियोगिता सञ्चालन गरिनेछ। प्रवेश शुल्क साधारणका लागि रु. १०० र विद्यार्थीका लागि रु. ७० निर्धारण गरिएको छ। विद्यार्थी र सामाजिक संस्थाका लागि टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ।महोत्सवमा रहेका प्रत्येक स्टलको बीमा गरिने पनि आयोजक समितिले जनाएको छ। अध्यक्ष कर्माचार्यका अनुसार मेला ठेक्कामा नदिइ, स्वयं संघले सञ्चालन गर्दै आएको हो।


पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलीले सुनवलको समग्र विकासका लागि मेला–महोत्सवले महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै प्रचार–प्रसारमा सञ्चार क्षेत्रको भूमिकाको पनि आवश्यकता औँल्याए। मङ्सिर २१ गते समापन हुने महोत्सवको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी–व्यवसायी, सरोकारवाला तथा हजारौँ दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।