लुम्बिनी ट्रक यातायात व्यवसायी संघको कार्यालयमा चोरी

प्रकाशित मिति:

भैरहवा, कात्तिक १७ । लुम्बिनी ट्रक यातायात व्यवसायी संघको कार्यालयमा चोरी भएको छ । रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका–८, बसडिलवामा रहेको संघको कार्यालयमा आइतबार राति चोरी भएको हो । रातिको समयमा कार्यालयको झ्यालको ग्रिल फोडी चोरी गरिएको हो ।  चोरी गर्ने समूहले कार्यालयभित्र रहेको सात वटा टेबल र दुई वटा दराजमा तोडफोड गरी नगद ५९ हजार ५ सय रुपैयाँ चोरी गरेको संघका महासचिव बालकिसुन गुप्ता बानियाँले बताए ।

घटना सोमबार बिहान कर्मचारी कार्यालय पुगेपछि चोरी भएको थाहा भएको थियो । घटनास्थलमा क्षति पुगेका फर्निचर तथा अंशवस्तुहरुको विवरण संकलन भइरहेको र थप केही सामान हराएको आशंका पनि रहेको संघले जनाएको छ । संघको कार्यालयमा सिसिटिभी क्यामरा नहुँदा अनुसन्धान चुनौतीपूर्ण हुने बताएको छ । चोरी सम्बन्धी जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । संघका पदाधिकारीहरूले सुरक्षामा कमजोरीले यस्तो घटना भएको भन्दै कार्यालय परिसरमा सुरक्षा व्यवस्थामा थप कडाइ गर्न माग गरेका छन् । प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गर्न सर्वसाधारणलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।