कार्तिक २७, रूपन्देही ।
क्वेस्ट नेपाल, सिद्धार्थ हबको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा यही कार्तिक ३० गते हुने १०औं एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) सम्मेलनको तयारी पूरा भएको छ। सम्मेलनका लागि विभिन्न उपसमिति गठन गरेर कार्य सम्पादन गरिएको छ । विद्यार्थीहरूको सर्वाङ्गीण विकासको उद्देश्यले तिलोत्तमा–५, मणिग्राम स्थित शान्ति नमूना माध्यमिक विद्यालयमा उक्त सम्मेलन हुन लागेको हो।
विद्यालय तथा विद्यार्थीहरूमा प्रतिस्पर्धा भन्दा पनि समन्वय र सहकार्यको वातावरण सिर्जना गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्वेस्ट नेपालले जनाएको छ। शिक्षा क्षेत्रमा फरक तरिकाबाट कार्य गर्दै आएको गैर–नाफामूलक संस्था क्वेस्ट नेपालका देशभर २६ वटा हबहरू रहेका छन्, जस मध्ये आयोजक सिद्धार्थ हब एक हो।
संस्थागत विद्यालयहरूमा लामो समयदेखि विद्यार्थीमैत्री कार्यक्रमका रूपमा परिचित एस.क्यु.सी.लाई सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने उद्देश्यले प्राथमिकता दिइएको शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको बताउनुभयो ।
सामुदायिक विद्यालयहरूको शैक्षिक महाकुम्भका रूपमा रहने यस कार्यक्रममा तिलोत्तमा नगरपालिका र अन्य केही नगरपालिकाबाट करिब ५०० प्रतियोगी विद्यार्थी तथा करिब २०० अवलोकनकर्ता विद्यार्थीहरूको सहभागिता रहनेछ। अवलोकन गर्ने विद्यार्थीहरूका माध्यमबाट अन्य विद्यालयहरूमा पनि आगामी वर्ष अझ प्रभावकारी रूपमा कार्यक्रम विस्तार गर्न सकिने विश्वास नगरपालिकाले लिएको छ।
हबका कोअर्डिनेटर तथा मास्टर ट्रेनर प्रकाश चापागाईंका अनुसार कार्यक्रम बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। उक्त अवधिमा १२ वटा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यस वर्षको आकर्षणका रूपमा थिममा आधारित प्यानल छलफल र विद्यार्थीहरूले आफैंले समस्या समाधान गरेको प्रमाणका रूपमा तयार पारेका करिब ५० वटा एस.क्यु.सी. केस स्टडी प्रस्तुत गरिनेछ।
त्यस्तै, सहकार्यमा आधारित ५ वटा प्रतिस्पर्धात्मक र ५ वटा गैर–प्रतिस्पर्धात्मक कार्यक्रमहरू रहनेछन्। प्रत्येक समूहमा ४ देखि १० जना सदस्य रहनेछन्, जसले आफूलाई अनुकूल लाग्ने कार्यक्रम छनोट गरी सहभागिता जनाउनेछन्।
यस कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो समस्या आफैं समाधान गर्ने, समूहमा मिलेर काम गर्ने, समन्वय गर्ने, अनुसन्धान गर्ने तथा २१औं शताब्दीका आवश्यक सामाजिक सीप र व्यक्तित्व विकास गर्ने क्षमताको वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागिताको लागि प्रति विद्यार्थी रु. ८०० र विद्यालय दर्ता शुल्क रु. ३,००० रहनेछ। नगरपालिकाको आर्थिक सहयोगका अतिरिक्त अन्य व्यवस्थापन सम्बन्धी खर्च शान्ति नमूना माध्यमिक विद्यालयले बेहोर्नेछ।










