नवलपरासी। पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिकाले आफ्नो प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। नगरको विकास, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र कृषिमा नगरबासीको चासो निकै देखिएको छ । नगरले गरेका निर्णय र नीति कार्यान्वयनको वास्तविकतामा नागरिकहरूले प्रश्न उठाउँदै नगरका समस्या र चुनौतीहरू उजागर गरेका छन्।

कार्यक्रममा सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र कृषिका विषयमा प्रश्नहरू उठाइएका थिए। सो प्रसङ्गमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले यी क्षेत्रलाई प्राथमिकतामा राखेकै कारण पछिल्ला केही वर्षमा शिक्षाको नतिजामा सुधार आएको छ।”
कृषि तथा पशुपालन सम्बन्धी प्रश्नको जवाफ दिंदै नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले सीमावर्ती क्षेत्रका किसानहरूलाई वैकल्पिक माध्यमबाट बीउ उपलब्ध हुने भए पनि नेपाल सरकारले नतोकेको भारतीय बीउ प्रयोगमा आउँदा अनुदान वितरणमा समस्या आएको बताउनु भयो । उहाँले जग्गा स्वामित्व नभएका किसानहरूलाई पनि मल र बीउ उपलब्ध गराइएको जानकारी दिँदै, नगरले भौतिक पूर्वाधार विकाससँगै मानव विकास सूचकाङ्कमा पनि ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।
सेवाग्राहीका प्रश्नहरूको उत्तर प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, वडा नं. १० का अध्यक्ष राजु मिश्र, वडा नं. ८ का अध्यक्ष कबिराज आचार्य, वडा नं. ९ का अध्यक्ष चन्द्रकान्त चापागाईं, नगर शिक्षा शाखा प्रमुख डिल्लीराम ढुंगाना, नगर पशुपन्छी विकास शाखा प्रमुख भरत लम्साल, इन्जिनियर किशोर चौधरीलगायतले दिनु भएको थियोे ।










